राजधानीकै उद्धार संयन्त्र फितलो, टहरामा फसेका चार जना बाढीले बगाएर बेपत्ता
काठमाडौं । उद्धार कार्य प्रभावकारी र चुस्त नहुँदा काठमाडौं उपत्यकामै चार जनालाई खोलाले बगाएर बेपत्ता पारेको छ ।
ललितपुर महानगरपालिका नखिपोट कोलोनी क्षेत्रको नख्खु खोलाको टहरामा फसेका चार व्यक्तिले शनिबार बिहानै हातको इशाराले आफूहरूको उद्धार गरिदिन टहराको छतबाट याचना गरेका थिए । केहीबेरमै नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलमा पुग्यो पनि । साधन स्रोत सम्पन्न संयन्त्र हुन्थ्यो भने केहीबेरमै ती व्यक्तिको उद्धार भइसकेको हुन्थ्यो । तर प्रहरीले परम्परागत उद्धार सामग्रीको मात्र भर पर्दा ती चारै जनालाई बाढीले बगाएर बेपत्ता बनाएको छ ।
निकैबेर बाढीमा फसेका उनीहरूलाई उद्धार गर्न पुगेको सशस्त्रको टोलीले डोरी मात्र प्रयोग गरेको थियो ।
सामाजिक सञ्जालमार्फत उक्त घटनाको भिडियो सार्वजनिक भएको छ । जसले धेरै मानिसहरूलाई स्तब्ध पारेको छ ।
सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले नक्खु खोलाले बगाएर चार जना बेपत्ता भएको र उनीहरूको पहिचान नखुलेको बताए । बाढीले बगाउनेमा दुई पुरुष, एक महिला र एक बालक छन्
सरकारले विपत प्रतिकार्यका लागि संयन्त्र खडा गर्दै स्रोत, साधनको प्रबन्ध गरेको छ । तर यो घटनाले राज्यको उद्धार संयन्त्रको हविगत कति दयनीय र फितलो छ भन्ने उदांगो बनाएको छ ।
घटनाको भिडियो सार्वजनिकपछि सामाजिक सञ्जालमा सरकारको चर्को आलोचना भइरहेको छ । हेलिकप्टरबाट केहीबेरमै उद्धार गर्न सकिने घटनामा सरकारी संयन्त्रले उदासीनता देखाएको भन्दै क्षोभ प्रकट भइरहेको छ ।
अमेरिकाबाट प्रधानमन्त्रीले भने– केही ठाउँमा उद्धार गर्न ढिलो भएको कुरा आएको छ
सरकारको उद्धार कार्यलाई लिएर चर्को आलोचना भइरहेका बेला संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले भने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका विपद् उद्धार टोलीलाई पूर्ण क्षमताका साथ, उद्धार साधन सहित खटाइएको दाबी गरेका छन् । निरन्तरको वर्षाले बाढी र पहिरोको खतरा बढाएको उल्लेख गर्दै सतर्कता अपनाउन भनेका उनले केही स्थानको उद्धारमा भने ढिलाइ भएको बताए ।
सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारीपूर्वक उद्धारको काम लाग्न पनि उनले अमेरिकाबाटै निर्देशन दिएका छन् ।
ताजा अपडेट
-
टेम्पो भिरमा खसालिएको घटनामा १० जना नियन्त्रणमा
-
स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ नियम
-
काठमाडौँ महानगरपालिकाभित्र १२८ डुवान क्षेत्र : डुबानबाट ८ हजार ११५ परिवार प्रभावित हुनसक्ने अनुमान
-
हर्मुज र आणविक मुद्दामा अमेरिका-इरान सम्झौता नजिक
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित


प्रतिक्रिया