NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १९ गते

राप्तीसोनारीमा वर्षाले धानबालीमा क्षति

नेपालगञ्ज । जिल्लाको राप्तीसोनारी गाउँपालिकामा गएराति परेको अविरल वर्षाले भित्राउने बेलाको धानबालीमा क्षति पुर्‍याएको छ । यसअघि हावाहुरीले ढालेको धान काटेर भित्राउने याेजनामा रहेका किसान गएरातिको वर्षाले क्षति पुर्‍याएपछि चिन्तित बनेका हुन् ।

काटेर भित्राउने बेलाको बाली कहिले हावहुरीले कहिले वर्षाले क्षति गराइरहेको राप्तीसोनारी–३ की बजारी थारुले बताए। “पानीले भिजेर धान खेतमा जमरा झै उम्रेको छ, अझै पानी आयो भने वर्षभरि खाने अन्न नष्ट हुन्छ”, उनले भने ।

करिब छ कट्ठा जमिनमा लगाएको महेन्द्र छ सय छ जातको धान भिजेको बताउँदै थारुले अहिले घाम देखिन थालेकामा खुशी व्यक्त गरे । यस बाहेक गाउँका करिब ११ परिवारको धानबालीमा गएरातिको वर्षाले क्षति पुर्‍याएको उनले जानकारी दिए ।

राप्तीसोनारीका किसान रणबहादुर थारुले आफ्नो सबै धानबालीमा वर्षाले क्षति पुगेको बताए । काटेर राखेको करिब १० कट्ठामा लगाएको बाली पानीले भिजाएको उल्लेख गर्दै उनले धान उम्रिने अवस्थामा पुगेको बताए । “मौसम सफा भए बाली भित्राउन पकिन्थ्यो किरु घाम नलागे सबै धान जमिनमै नष्ट हुन्छ । वर्षभरि खाने अन्न नष्ट भए के खानेरु”, उनले प्रश्न गरे।

स्थानीय पत्रकार विमला चौधरीले करिब २ घण्टा परेको वर्षाले किसानको धानबालीमा क्षति पुर्‍याएको उल्लेख गर्दै भिजेको धान सबै उम्रन थालेको उल्लेख गरिन् । राप्तीसोनारी–३ का वडाध्यक्ष मिनराज खड्काले वर्षाका कारण काटेर राखिएका र ढलेका धानमा केही क्षति पुगेको बताए ।

वडाध्यक्ष खड्काले वडा कार्यालयबाट क्षतिको विवरण सङ्कलन गर्न लागिएको बताए। उनका अनुसार राप्तीसोनारी–३ र ४ का करिब ११ परिवारका किसानको धानबालीमा क्षति भएको प्रारम्भिक तथ्याङ्क प्राप्त भएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष