दसैँमा घर जान सकसै सकस, न बसको टिकट न हवाईजहाजको
काठमाडौं । बडादसैँ मनाउन जन्मस्थान जान काठमाडौँ उपत्यका छाड्नेको सङ्ख्या दिनहुँ बढ्दै गइरहेका छन् । सडकको अवस्थाका कारण दसैँमा घर जान यसै पनि असहज भएको छ । त्यसमाथि लामो दूरीका सार्वजनिक यातायात तथा हवाईजहाजको टिकट नपाएर नागरिक हैरानीमा परेका छन् ।
दसैँ मनाउन यही असोज १४ गतेदेखि २० गते आइतबारसम्म तीन लाख ६३ हजार एक सय ६४ जनाले काठमाडौँ उपत्यका छाडेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले जानकारी दिए । उनका शनिबार साँझ ६ बजेदेखि आइतबार बिहानसम्म मात्रै १६ हजार चार सय ६५ जना काठमाडौंबाट बाहिरिएका छन् ।
सडकको अवस्थाका कारण दसैँमा घर जान असहजता महसुस गरेका यात्रुहरू बस तथा हवाईजहाजको टिकट नपाउँदा थप समस्यामा परेका छन्
दसैँका लागि काठमाडौं उपत्यका छाड्नेका कारण अहिले यहाँका नाका तथा राजमार्गहरूमा गाडीको जाम लाग्ने गरेको छ । कतिपय ठाउँहरूमा सडक भत्किने तथा भासिने गरेका कारण सवारीसाधन चलाउन तथा यात्रुहरूलाई निकै सास्ती हुने गरेको गाडी चालक बताउँछन् ।
बस तथा जहाजको टिकट पाउनै मुस्किल भएका कारण दसैँको समयमा घर जान नपाएर काठमाडौं उपत्यकामै रोकिन बाध्य भएको काठमाडौंको नयाँ बसपार्कबाट सुदूरपश्चिम जान हिँडेका कैलालीका लोकेश सिंहले बताए ।
उनले भने, “बस, हवाई केहीको पनि टिकट सहज पाउन सकिएको छैन, मैले त पहिले नै काटेकाले सिट पाएँ, मसँगका साथीहरू टिकट नपाएर काठमाडौँमै छुटेका छन् । कति नरमाइलो लागेको छ ।”
टिकट पाएकाहरू महँगो मूल्य तिर्न बाध्य भएको उनले बताए ।
यति मात्र नभई कतिपय लामो दूरीका यात्रुहरू टिकट नपाए पनि बसका बोनट तथा मुडामा बसेर भए पनि यात्रा गर्न बाध्य भएका काठमाडौंबाट अछाम जानका लागि काठमाडौंको गोङ्गबु बसपार्कमा भेटिएका दीपकबहादुर खत्रीले बताए ।
उनले भने, “वर्ष दिनको चाड घर जानैपर्यो, सिटका लागि टिकट पाइएन, गाडीले भाडा मिलाउला भनेपछि बोनटमा बसेर भए पनि घर जाँदैछु ।” उनीजस्तै टिकट नपाउँदा कतिपय यात्रुहरू बसमा राखिएका मुडा तथा बसको बोनटमा बसेर यात्रा गर्न बाध्य छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया