पिङ संरक्षणमा युवा
दमौली । विगतका वर्षका तुलनामा यस वर्ष तनहुँका ग्रामीण भेगहरुमा पिङ हाल्ने क्रम बढेको छ । दसैँका बेला भुइँ छाड्नुपर्छ भन्ने मान्यता रहँदै आएको छ ।
सोही बमोजिम जिल्लाका विभिन्न ठाउँमा युवा क्लवहरुले लिङ्गे तथा रोटे पिङ हालेर संस्कृति संरक्षणमा जुटेका छन् ।
भानु नगरपालिका–१३, सम्जुरमा युवाहरूले ६ पिर्के रोटे पिङ बनाएका छन् । पछिल्लो पुस्ताको वेवास्ता र बढ्दो युवा पलायनका कारण गाउँमा पिङ देख्नै मुस्किल भएपछि आफूहरुले रोटे पिङ बनाएको सम्जुरका युवा अर्जुन बानियाँले बताए । उनले भने, “विगतमा दसैँ सुरु हुनुभन्दा गाउँमा पिङ बनाइन्थ्यो, पिङ खेल्दै रमाइलो हुन्थ्यो । तर आजभोलि समय त्यस्तो छैन । गाउँमा युवा नै पाउन छाडियो ।”
वैदेशिक रोजगारीका लागि युवा विदेशिने क्रम बढेपछि गाउँमा पिङ देख्नै छाडिएको उनको भनाइ छ । उनले भने, “पिङको संस्कृति संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यका साथ हामी गाउँमा भएका युवा मिलेर पिङ हालेका छौ ।”
यस्तै व्यास नगरपालिका–१२, कमलाबारीमा अकला युवा क्लवले लिङ्गे पिङ बनाएको छ । दसैँमा पिङ हाल्ने संस्कृतिको संरक्षणका लागि युवाहरु मिलेर पिङ हालेको क्लवका तारा पन्थले बताए । उनले भने, “पिङ हालेको देखेपछि दसैँ आयो भन्ने अनुभूति हुन्छ । वर्षमा एकदिन धर्ती छाड्नुपर्छ भन्ने मान्यता रहँदै आएको बताइन्छ । गाउँघरमा हवाइजहाज बन्नुभन्दा पहिले र अझै पनि हवाइजहाज चढ्न नसक्नेहरुले वर्षमा एकपटक भएपनि दसैँमा टीका लगाएपछि पिङ खेलेर जमिन छाड्नुपर्छ भन्ने चलन रहँदै आएको छ ।”
म्याग्दे गाउँपालिका–१, गुणादीमा फ्रेण्डसीप युवा क्लव, व्यास नगरपालिका–१०, बैरेनी, शुक्लागण्डकी नगरपालिका–११, थामडाँडा, व्यास नगरपालिका–३, दमौलीमा पनि रोटे तथा लिङ्गे पिङ हालिएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया