लामखुट्टेविरुद्धको विषादीबारे अनुसन्धान गरिँदै
कञ्चनपुर । औलो सार्ने लामखुट्टेविरुद्ध प्रयोग हुँदै आएको किटनाशक विषादीको प्रभावकारिताबारे सुदूरपश्चिम प्रदेशका दुई जिल्लामा अध्ययन–अनुसन्धानको कार्य सुरु गरिएको छ ।
स्वास्थ्य निर्देशनालय राजपुर डोटीको कीट अनुसन्धान प्रयोगशालाले कैलाली र कञ्चनपुरमा अनुसन्धान सुरु गरेको हो । डेल्टामेथ्रिन, अल्फासाइपरमेथ्रिन र लैम्बडासायहेलोथ्रिन नामक तीनवटा विषादी लामखुट्टेविरुद्ध विगत २५ वर्षदेखि प्रयोग हुँदै आएको छ । तीनवटै विषादीको प्रभावकारिताबारे अध्ययन भइरहेको स्वास्थ्य निर्देशनालय राजपुरका कीटजन्य अधिकृत हेमराज जोशीले बताए ।
“माउथ एस्पिरेटरको माध्यबाट औलो प्रभावित क्षेत्रबाट लामखुट्टे सङ्कलनको कार्य गरिरहेका छौँ”, उनले भने, “सङ्कलन गरिएका लामखुट्टेलाई ल्याबमा लगेर परीक्षण हुन्छ, एकपटकमा एक सय ५० लामखुट्टेमा अध्ययनको कार्य हुन्छ, यो प्रक्रियामा २६ घण्टा लगाएर ल्याब परीक्षणको कार्य पूरा हुन्छ ।”
अध्ययनका क्रममा एक सय लामखुट्टेलाई विषादीसँग सम्पर्क गराउने र ५० लामखुट्टेलाई बिनाविषादी जस्ताको तस्तै ट्युबमा राखेर अध्ययन गरिने उनको भनाइ छ । विषादीसँग सम्पर्क गराएका र नगराएका लामखुट्टेको मृत्युदरको विष्लेशण गरी विषादीले काम गरे/नगरेको निक्र्योल गरिने अधिकृत जोशीले बताए ।
उनका अनुसार पहिलो चरणमा कञ्चनपुरका भीमदत्त नगरपालिका-९ बाट अध्ययन सुरु गरिएको छ । एनोफिलिस फ्युवियाटिलिस नामक लामखुट्टेलाई डेल्टामेथ्रिन विषादीसँग सम्पर्क गरी अध्ययन अनुसन्धानको कार्य गरिएको छ । दोस्रो चरणमा कैलालीका मलेरिया प्रभावित क्षेत्रमा अध्ययनको कार्य गरिने भएको छ ।
भारतमा नौ प्रजातिका लामखुट्टेले औलो सार्ने भए पनि नेपालमा गरिएको अध्ययनमा एनोफिलिस फ्युवियाटिलिस, एनोफिलिस म्याकुलाटस कम्पलेक्स र एनोफिलिस एन्युलरिस नामक तीन प्रजातिका लामखुट्टेले औलो सार्ने गरेको पाइएको छ । लामखुट्टेको टोकाइबाट हुने औलो रोगबाट कैलाली र कञ्चनपुर उच्च जोखिममा छन् ।
आर्थिक वर्ष २०८०/८१ को साउनदेखि असार मसान्तसम्म औलोका बिरामीको सङ्ख्या सुदूरपश्चिम प्रदेशमा दुई सय ४७ रहेकामा आयातित बिरामीको सङ्ख्या दुई सय २९ रहेको थियो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया