NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २७ गते

अख्तियारका एसपी नै छानविनमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी उपरीक्षक(एसपी) कमल थापा छानविनमा तानिएका हुन् । हनि ट्रयापिङमा फसाउने गिरोहसँग निकटतम सम्बन्ध देखिएपछि प्रहरी प्रधान कार्यालयले उनीमाथि छानविन थालेको छ ।

हाल ललितपुर प्रहरी परिसरको थुनामा रहेका इटहरीका ताज इस्लामको समूहसँग एसपी थापाको निकटतम सम्बन्ध देखिएको हो । सो समूहले भैंसेपाटी प्रभागकी तत्कालिन प्रमुख इन्सपेक्टर बिनुकुमारी शाहीसँग मिलेर एक व्यापारीलाई थुनामा राखी बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख रुपैयाँ असुलेको थियो । जून घटनामा एसपी थापामाथि समेत छानविन भइरहेको छ ।

इस्लामसँग एसपी थापाको पूरानो चिनजान थियो । इन्सपेक्टर शाहीसँग पनि उनले नै भेटघाट गराइदिएको खुलेको छ । इस्लामको समूहले सुरुमा सो योजनाबारे एसपी थापासँग सल्लाह गरेको थियो । एसपी थापाले इन्सपेक्टर शाहीकोमा भेट्न पठाएका थिए । सोहीअनुसार सुनसरीको घटनामा भैंसेपाटीमा मुद्दा दर्ता गर्ने भन्दै धम्काएर ३० लाख असुलिएको थियो ।

त्यसरी पैसा लिएकै दिन इस्लाम र एसपी थापाबीच एयरपोर्टको एक रेष्टुरेन्टमा आधा घन्टा छलफल भएको समेत पुष्टि भएको छ । डिएसपी नरहरी अधिकारी नेतृत्वको छानविन टोलीले एसपीमाथि थप छानविन गर्न सिफारिस गरेको थियो । सोही आधारमा प्रहरी प्रधान कार्यालयले छानविन अघि बढाएको हो । विस्तृत अनुसन्धान भएमा यो घटनामा एसपीविरुद्ध समेत मुद्दा चल्ने आधारहरु भेटिएका छन् ।
यो घटनामा संलग्न इन्सपेक्टर शाही भने फरार छिन् । उनका चालक सहायक हवल्दार महेन्द्र हमाल भने पक्राउ परिसकेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष