विपक्षीलाई शंकर पोखरेलको जवाफ– आफ्नो दल राम्रो बनाउनू, एमालेको चिन्ता नलिनू

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी कार्यालय निर्माण प्रयोजनार्थ व्यवसायी मीनबहादुर गुरुङबाट १० रोपनी जग्गा स्वीकार गरिएको विषयको पुनः बचाउ गरेका छन् । नेकपा एमाले जनताको भावना बुझ्दै अघि बढेको पार्टी भएको उल्लेख गर्दै उनले एमालेका लागि विपक्षी दल र तिनका नेता–कार्यकर्ताको सुझाव आवश्यक नभएको पनि बताए ।
व्यवसायी मीनबहादुर गुरुङबाट पार्टी कार्यालय निर्माणका लागि जग्गा हस्तान्तरणपछि पार्टीभित्र र बाहिरबाट एमाले नेतृत्वको आलोचना भइरहेका सन्दर्भमा पोखरेलले यस्तो टिप्पणी गरेका हुन् ।
‘यतिवेला फरक पार्टीका नेता र कार्यकर्ताहरूले नेकपा (एमाले) को भविष्यका बारेमा चिन्ता गर्दै सामाजिक सञ्जालमा अनेकन् सुझाव दिइरहेका छन् र उसले गरेका निर्णयहरूको कटुआलोचना गरिरहेका छन् । राजनीति गर्नेहरूले आ–आफ्नो पार्टी राम्रो बनाउन लागे त अरूका बारेमा चिन्ता गर्नै पर्दैन नि,’ पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन् ।
राष्ट्रको आवश्यकता के हो ? जनता के चाहन्छन् भन्ने कुरा आफ्नो दललाई राम्ररी हेक्का रहेको उल्लेख गर्दै उनले एमाले कस्तो बनाउने भन्ने कुरा एमालेजनलाई नै छाडिदिन पनि आग्रह गरे । जनस्तरका सुझाव ग्रहण गर्न मिसन ग्रासरुटर मध्यपहाडी लोकमार्ग आधारित यात्रा एमालेले विगतमा गरेको र आगामी दिनमा यसैगरी जनतामाझ पुग्ने योजना रहेको उनले बताए ।
‘नेकपा (एमाले) लाई कस्तो बनाउने नेकपा (एमाले) जनलाई नै छोडिदिनु न,’ उनले अगाडि थपे, ‘ जनता के चाहन्छन् ? र राष्ट्रको आवश्यकता के हो ? नेकपा (एमाले) लाई राम्ररी थाह छ ।’
आजको कुरामा नअल्झिइकन जनताको भावनाअनुरूप एमाले अघि बढिरहेको पोखरेलले दाबी गरे । समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पूरा गर्न अहिले बलियो र निर्णायक राष्ट्रिय शक्तिको खाँचो टड्कारो बनेको र एमाले त्यही शक्ति निर्माण गर्न जुटेको पोखरेलले उल्लेख गरेका छन् ।
निर्वाचनबाट दलको लोकप्रियता मापन गर्नुपर्नेमा सामाजिक सञ्जालबाट गरिएको भन्दै उनले त्यसप्रति पनि रोष प्रकट गरे । ‘कुन पार्टी कस्तो भन्ने कुराको परिक्षण त सामाजिक संजालले होइन आवधिक निर्वाचनले गर्ने हो । त्यसका लागि नेकपा९एमाले० हरदम तयार छ,’ पोखरेलको तर्क छ ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया