बेमौसमी वर्षात्ले धानबालीमा क्षति
पर्वत । जिल्लाका विभिन्न क्षेत्रमा सोमबार दिउँसो परेको बेमौसमी वर्षाका कारण थन्क्याउने तयारी भएको धानबाली र परालमा क्षति पुगेको छ ।
सोमबार दिउँसो परेको वर्षाले खेतमा लटरम्म पाकेको धान झारेको छभने काटेर सुकाएको निहिन र पराल पूरै डुबाएको किसानले गुनासो गरेका छन् । जिल्लाको फलेवास, महाशिला, विहादी, जलजला, मोदी र पैैयूँ गाउँपालिकाका अधिकांश स्थानका किसानले तिहार सकिएलगत्तै धान भित्र्याउने तयारी गरेका थिए ।
कतिपयको तिहार अघिदेखि काटेर सुकाएको र कतिपयको सोमबार बिहान काटेको धान नष्ट गरेको मोदी गाउँपालिका–२ देउपुरका प्रकाश चापागाईँले जानकारी दिए । धान थन्क्याइसकेका किसानले दाइँ हालेर टौवा बनाउने तयारी गरेका बेला पराल रुझेको गुनासो गरेका छन् ।
रुझेको पराल कुहिएमा गाईभैंसीले नखाने भएकाले केही दिन लगातार सुकाउनुपर्ने समस्या भएको ठुलीपोखरीका किसान रामप्रसाद सापकोटाले बताए ।
कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत शङ्कर पौडेलले जिल्लाका सबैजसो पालिकामा थन्क्याउने तयारी गरेको धानमा वर्षाले नोक्सानी पुर्याएको बताए। यसअघि यही कात्तिक ६ गते पनि असिनापानी पर्दा क्षति भएको थियो । त्यतिबेला बचेको धान अहिले थन्क्याउने बेलामा फेरि असर गरेको उनको भनाइ छ । क्षतिको यकिन विवरण सङ्कलनको काम भइरहेको उनले बताए ।
धान पर्वतको मुख्य बाली हो । पटकपटक आएको असिना र भारी वर्षाले धानबालीमा क्षति पुर्याएपछि यसपटक उत्पादनमा पनि कम हुने भएको छ । रोप्ने बेलामा मौसम अनुकूल परेका कारण यस वर्ष उत्पादन बढ्ने आकलन गरिएको भए पनि अहिले क्षति पुगेको कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया