NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

एक करोड २० लाख वर्ष पुरानो गोहीको अवशेष सार्वजनिक

एजेन्सी । पेरुको मरुभूमिमा फेला परेको एक करोडदेखि एक करोड २० लाख वर्ष पुरानो एक युवा सामुद्रिक गोहीको अवशेषलाई पेरूका वैज्ञानिकहरूले सार्वजनिक गरेका छन् । राजधानी लिमाबाट करिब ३५० किलोमिटर दक्षिणमा रहेको पेरुको ओकुकाजे मरुभूमिमा सन् २०२३ को अन्त्यतिर करिब तीन मिटर (करिब १० फिट) लामो घडियाल गोहीको जीवाश्म फेला परेको थियो ।

“हामीले यो प्रजातिको किशोर घडियाल गोहीको अवशेष फेला पारेका छौँ, अहिलेसम्म यसको अधिकतम ठूलो आकार फेला परेको रेकर्ड थिएन। यसको एक करोड २० लाख वर्षभन्दा पहिले नै मृत्यु भएको थियो, मेरुदण्डी जीवाश्म विज्ञानका अनुसन्धाता मारियो ग्यामराले एक पत्रकार सम्मेलनमा भनिन् ।

खवशेषको पुनर्निर्माणको नेतृत्व गरेका ग्यामराका अनुसार यी नमूनाहरूको खप्पर र बङ्गारा आजका गोही र मगरमच्छ (गोही)हरूको भन्दा फरक छ ।

ग्यामराले भने, “तिनीहरूको लामो र चुच्चे मुख थियो र उनीहरूको आहार माछा मार्ने खालको थियो।” “यो गोहीको सबैभन्दा नजिकको जाती भारतीय घडियाल गोही हो,” उनले भने।

पेरुको ‘जियोलोजिकल, माइनिङ एन्ड मेटलर्जिकल इन्स्टिच्युट’ र ‘ला युनियन स्कुल’ले संयुक्त रुपमा उक्त खोज गरेका हुन् ।

पेरुको ओकुकाजे मरुभूमिमा चार खुट्टा भएका बौना ह्वेल, डल्फिन, शार्क र अन्य प्रजातिका मिओसिन कालका ५० लाख बर्षदेखि दुई करोड ३० लाख वर्ष पहिलेका अवशेष पत्ता लागेका छन् ।