रामेछापको सुन्तलाले पाएन बजार
मन्थली । यहाँ सुन्तलाले बजार नपाउँदा किसान सस्तो मूल्यमा बिक्री गर्न बाध्य छन् । जिल्लाको मन्थली नगरपालिका–१४ फुलासीमा व्यावसायिक रूपमा करिब एक हजार आठ सय रोपनी क्षेत्रफलमा लगाइएको सुन्तलाले बजार पाउन नसकेकको स्थानीय सुन्तला कृषक तुलबहादुर तामाङले बताए ।
आफूले करिब ५० रोपनी जग्गामा लगाएको सुन्तला गत वर्षदेखि राम्रो उत्पादन हुन थाले पनि बजारको सुविधा नभएकाले सस्तोमा बिक्री गर्नुपरेको बताए ।
अर्का कृषक भरत वाइबा पनि आफूले दुई हजार बोट सुन्तला लगाएर उत्पादन गरिरहेको तर बजार नपाएकाले समस्या भएको बताउँछन् । “विगतका वर्षमा बगैँचाबाटै प्रतिकेजी सुन्तला रु एक सयमा बिक्री वितरण हुने गरेको थियो, यस वर्ष भने प्रतिकेजी रु ७५–८० मै दिनुपर्ने बाध्यता छ । के गर्नु उत्पादन गरे पनि बजार नभएपछि ।”
मन्थली नगरपालिका–१४ फुलासीमा अहिले प्रायः घरैपिच्छे सुन्तला बगैँचा छन् । यहाँ कसैले व्यावसायिक रूपमा त कसैले आफ्नै घरायसी उपभोगका लागि सुन्तला रोपेका छन् । यहाँ पुग्ने जो कोहिलाई पहेलपुर सुन्तलाले लोभ्याउछ ।
यसवर्ष यस वडाबाट करिब रु दुई करोडको सुन्तला बिक्री गर्ने लक्ष्य भए पनि मूल्य निर्धारण गरी आवश्यक बजार व्यवस्थापन नहुँदा आफूहरू मारमा परेको कृषक वाइबाले गुनासो गरे ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले यस पालिकामा रहेका सुन्तला व्यवसायीलाई ५० प्रतिशत अनुदानमा रोग तथा कीटाणुनाशक औषधि र भिटामिन छर्न अनुदान सहयोग गरेको थियो । बजारीकरणका लागि भने स्थानीय तह र अन्य निकायबाट पनि सहयोग नपाइएको स्थानीय कृषकको गुनासो छ ।
“हामीले वर्षभरि मेहनत गरेर उत्पादन गर्छौँ, त्यसको प्रतिफल पनि राम्रै छ तर बजार नभएकाले लागतअनुसार मूल्य पाएनौँ । यसरी त सधैँ व्यवसाय हुँदैन । त्यसैले सरकारले नै हामीलाई सहयोग गर्न आवश्यक छ”, स्थानीय किसानको भनाइ छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया