NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

के हो हिरासतको भनिएको रवि लामिछानेको तस्बिरको वास्तविकता ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सहकोषाध्यक्ष दीपक बोहोराले बुधबार राति सामाजिक सञ्जालमा एउटा तस्बिरसहित पोस्ट् लेखे– अन्याय गर्नुको पनि हद हुन्छ। रवि दाइ हिरासत कक्षमा सुतेको सीसीटीभीको यो फोटो कास्की प्रहरीले कसलाई पठाउन स्क्रिनसट गरेको होला ? अनि के उद्देश्यका लागि सार्वजनिक गरियो ? कति हो यो फोटोको मूल्य ।’

रवि लामिछानेजस्तो देखिने तस्बिर सार्वजनिक गर्दै उनले देशमा न्याय नमरेको भए कसै न कसैले यसको मूल्य चुकाउनुपर्ने चेतावनी पनि दिएका छन् ।

रविकाे अवस्थाबारे  कसैलाई जानकारी गराउन हिरासत कक्षमा राखिएको सिसिटिभी फुटेजकाे स्क्रिन सट गरिएकाे र त्याे अहिले त्यसैलाई अहिले सार्वजनिक गरिएको दाबी बोहोराको छ ।

नियमतः हिरासतमा रहेका व्यक्तिको गतिविधि दर्शाउने तस्बिर तथा भिडियो सार्वजनिक गर्न पाइँदैन । बोहोराले सामाजिक सञ्जालमार्फत उक्त तस्बिर सार्वजनिक गरेसँगै यो तस्बिर अहिले भाइरल बनेको छ । रास्वपाका नेता कार्यकर्ता तथा रविका समर्थकले हिरासतमा रहेका लामिछानेको अनावश्यक चियोचर्चो गरेर तस्बिर सार्वजनिक गरिएको भन्दै सरकार र नेपाल प्रहरीकाे आलोचना गरिरहेका छन् ।

के हो तस्बिरको सत्यता ?

सार्वजनिक तस्बिरमा रविजस्तो देखिने एक व्यक्ति सुतिरहेको देखिन्छ । टेबलमा केही पुस्तकहरू पनि राखिएका छन् ।

टेबलमा राखिएका पुस्तकहरू उर्दु भाषाको जस्तो देखिन्छन् । त्यसैले कतिपयले उक्त तस्बिर फेक रहेको जिकिर पनि गरिरहेका छन् । हिरासतमा रहेका रविको पक्षमा माहोल सिर्जना गर्न फेक तस्बिरको साहरा लिइएको यस्तो तर्क गर्नेहरूको मत रहेको छ ।

तर उक्त तस्बिर चितवनस्थित नेपाल प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकै भएको खुलासा भएको छ । आफूलाई सामाजिक अभियन्ता बताउने डा. निकोलस भुसालले हिरासतमा रहेका लामिछानेको तस्बिर खिचेर सार्वजनिक गरेको खुलासा भएको हो ।

लामिछानेको न्यायको माग गर्दै आन्दोलन समेत गरिरहेका भुसाल केही समयअघि उनलाई भेट्न प्रहरी हिरासत पुगेका थिए । त्यसक्रममा सिसिटिभीबाट प्रहरीले देखाएको फुटेज मोबाइलमा कैद गरेर उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्। प्रहरी हिरासतमा माेबाइल फाेन लैजान नपाइने नियमबीच उनले कसरी त्यस्ताे तस्बिर लिन सके भन्नेचाहिँ खुलेकाे छैन ।

भुसालले सामाजिक सञ्जाल फेसबुकमा बिहीबार बिहान एक पोस्ट् लेख्दै उक्त फोटो आफैंले खिचेको स्वीकार गरेका छन् । आफूबाट गल्ती भएको उल्लेख गर्दै उनले कसैलाई दोष देखाउने आफ्नो खराब नियत नरहेको स्पष्ट पारेका छन् । स्वास्थ्य अवस्था बुझ्न र हौसला प्रदान गर्न आफू रविलाई भेट्न हिरासत पुगेको  र अवस्थाबारे जानकारी दिन सञ्जालमार्फत उक्त तस्बिर लिएकाे उनको भनाइ छ ।

‘यो फोटो रियल हो । मैले नै खिचेको हो । गल्ती भको हो माफी चाहन्छु । मबाट कसैलाई दोष लगाउने या खराब नियत थिएन । भ्रममा नपर्न अनुरोध । म स्वास्थ्य अवस्था बुझन र हौसला प्रदान गर्न गएको थिएँ,’ तस्बिरबारे चर्चा परिचर्चा हुन थालेपछि निकोलसले सामाजिक सञ्जालमा लेखेका छन् ।

के भन्छ चितवन प्रहरी ?

जिल्ला प्रहरी कार्यालय, चितवनले उक्त तस्बिर हिरासतमा रहेका रवि लामिछानेकै भएको स्वीकार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता वसन्तकुमार शर्माले उक्त तस्बिर हिरासतमा रहेका रविको भएको स्वीकार गर्दै यसमाथि अनुसन्धान थालिएको सञ्चारमाध्यमहरूलाई जनाएका छन् ।

 

 

 

 

 

 

ताजा अपडेट

नेपालवाच विशेष