NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दै छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार बैठकमा केन्द्रीय कमिटी बैठकको मिति निर्धारण गर्नाका साथै स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्नेछ । गत मंसिरमा सम्पन्न स्थानीय तह उपनिर्वाचनमा एमालेले सिट संख्या बढाए पनि पहिले जितेका ठाउँ गुमाएको थियो ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा हुने बैठकमा पार्टी सङ्गठन विस्तार र समसायिक राजनीतिक विषयमा विचारविमर्श हुने उनले जानकारी दिए ।

स्थिरता र संविधान संशोधनमा केन्द्रित हुने सहमति गरेर संसदका दुई ठूला दल एमाले र कांग्रेसको गठबन्धनमा केपी शर्मा ओली प्रधानमन्त्री बने पनि सरकारले आशाको सञ्चार गराउन सकेको छैन । बरु आफ्ना र अरूमा दोहोरो मापदण्ड अपनाएर राजनीतिक बेइमानी गरेको आरोप खेपिरहेको छ । सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि पक्राउ गरिएका रास्वपा सभापति रवि लामिछानेविरुद्ध मुद्दामाथि मुद्दा लगाइए पनि सोही प्रकरणमा मुछिएका सत्तारूढ दलका नेता तथा कार्यकर्तालाई छानबिन बाहिरै राखिएको छ ।

बुधबारका लागि बोलाइएको बैठकको एजेण्डामा समसामयिक राजनीतिक विषय राखिए पनि यसबारे छलफल हुने सम्भावना न्यून छ । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पार्टीभित्र विचारको संघर्ष र बहसलाई करिब निषेध जस्तै  गर्दै आइरहेका छन् । केही समयअघि अदालतबाट दोषी ठहर भएका व्यवसायी मीनबहादुर गुरुङबाट पार्टी कार्यालय निर्माणार्थ जग्गा दान लिने निर्णय लिँदा स्वार्थको द्वन्द्व देखिने भन्दै त्यसबाट कार्यकर्ताको शिर निहुरिएको अभिव्यक्ति दिने नेतालाई एमालेले स्पष्टीकरण नै सोधेको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष