NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

युरोपेली नेतासँगको भेटपछि अमेरिकाबारे के भने जेलेन्स्कीले ?

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हालैको घटनापछि युरोपबाट स्पष्ट समर्थन पाएको बताएका छन्। थप एकता र सहयोग गर्ने इच्छाका साथ आफूले त्यस्तो समर्थन पाएको उनको निष्कर्ष छ ।

‘वास्तवमा शान्ति हासिल गर्ने मुद्दामा सबै जना एकजुट छन्, हामीलाई वास्तविक सुरक्षा ग्यारेन्टी चाहिन्छ। यो सम्पूर्ण युरोपको माग हो,’ उनले भने ।

आफ्नो देशले अमेरिकाको महत्त्व बुझेको उल्लेख गर्दै उनले उसको मद्दतका लागि हरेक दिन धन्यवाद तथा आभार व्यक्त गरेको सुनाए ।

‘स्पष्ट रूपमा हामी अमेरिकाको महत्त्व बुझ्छौं र उसबाट प्राप्त हरेक सहयोगका निम्ति आभारी छौं। हामीले उनीहरूलाई धन्यवाद नदिएको कुनै दिन छैन,’ उनले भने ।

आइतबार लन्डनमा युक्रेन युद्धको विषयलाई युरोपेली देशका नेताहरूको बैठक बसेको थियो जसमा जेलेन्स्की पनि उपस्थित थिए ।

बिबिसीको एक प्रश्नमा जेलेन्स्कीले देशको रक्षा गर्ने सर्तमा अमेरिकासँग खनिज सम्झौता गर्न आफू अझै तयार रहेको बताए । यसअघि जेलेन्स्की खनिज सम्झौता गर्ने योजनाका साथ अमेरिका पुगेकोमा ह्वाइट हाउसको अपमानजनक व्यवहारपछि त्यसै फर्किएका थिए ।

उनले भने, ‘म अझै पनि अमेरिकासँग खनिज सम्झौता गर्न तयार छु । तर हाम्रो शर्त यो हो कि युक्रेनको अवस्थाको बारेमा सुनुवाइ हुनुपर्छ।’

गत शुक्रबार जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच अमेरिकी राष्ट्रपति भवनमा चर्को बहस भएको थियो। यसक्रममा अमेरिकी उपराष्ट्रपति जेडी भ्यान्सले पनि जेलेन्स्कीमाथि कडा आक्रमण गरेका थिए। यस प्रकरणपछि युरोपेली देशहरूबाट ट्रम्प प्रशासनको आलोचना र जेलेन्स्कीप्रति सहानुभूति प्रकट भइरहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष