हुम्लाको नाम्खामा ३९ हिउँ चितुवा भेटिए
काँक्रेविहार । डिभिजन वन कार्यालय हुम्लाको समन्वयमा उकाली तथा तेस्रो धुव्र संरक्षणले हिउँ चितुवाको अध्ययन गर्दा नाम्खा गाउँपालिकामा ३९ हिउँ चितुवा रहेको पत्ता लागेको छ ।
‘क्यामरा ट्र्यापिङ’ प्रविधिको प्रयोग गरेर सन् २०२२ देखि २०२३ सम्म दुर्लभ हिउँ चितुवाको सङ्ख्या गणना गरिएको थियो । अध्ययनअनुसार उत्तरी नाम्खा गाउँपालिकामा कम्तीमा ३९ हिउँ चितुवा रहेको पत्ता लागेका सहायक वन अधिकृत बाबुलाल बम्जनले बताए ।
हिउँ चितुवा अनुसन्धानकर्ता रिन्जिन फुन्जोक लामाले नाम्खा क्षेत्रमा ६१ वटा क्यामेरा जडान गरेर हिउँ चितुवाको अध्ययन गर्दा ३९ हिउँ चितुवा कैद गरिएको बताए। हुम्ला सदरमुकाम सिमीकोटदेखि पाँच दिन पैदल हिँडेर लिमी पुगिसकेपछि घोडा खच्चरमा खानेकुरा बोकेर हिउँ चितुवा पाइने स्थानमा पुग्ने उनले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले हिउँ चितुवाको तथ्याङ्क ल्याउने कार्य सकिएको बताए । यस्तै, माथिल्लो डोल्पामा हिउँ चितुवा पाइएसँगै हुम्लामा पनि पाइने अनुमानका आधारमा हिउँ चितुवाको गणनाको काम गरिएको थियो । गाउँपालिकाले पनि अब हिउँ चितुवा संरक्षणका लागि कार्यक्रम बनाउने अध्यक्ष लामाले जानकारी दिए ।
नाम्खाभित्रको मात्र अध्ययन गरिएको सहायक वन अधिकृत बम्जनले जानकारी दिए। उनले भने, “सरकारले २०२४ देखि २०३० सम्म हिउँ चितुवाको गणना तथा संरक्षणलाई प्राथमिकतामा राखेको छ ।” चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको नाम्खामा छ वडा रहेका छन् । कुल क्षेत्रफल करिब दुई हजार ४१९ दशमलव ६४ वर्ग किमी रहेको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया