औद्योगिक क्षेत्रमा ब्युँतियो लोडसेडिङ, अन्यत्र के होला ?

काठमाडौं । कुलमान घिसिङको कुशल व्यवस्थापनका कारण घटेको लोडसेडिङ समस्या पुनः ब्युँतिएको छ । नेपाल विद्युत् प्राधिकरणले मागअनुसार विद्युत् आपूर्ति गर्न नसकेपछि औद्योगिक क्षेत्रमा लोडसेडिङको पुरानो समस्या दोहोरिएको हो ।
नेपाल विद्युत् प्राधिकरणले बुधबार एक सूचना जारी गर्दै विद्युत् व्यवस्थापनमा केही कठिनाइ देखिएकाले औद्योगिक क्षेत्रमा मागअनुुरूप विद्युत् आपूर्ति गर्न नसकिएको जनाएको छ । भारतबाट मागअनुसार विद्युत् आपूर्ति भएपछि भने यो समस्या हट्ने प्राधिकरणको विश्वास छ ।
‘…विद्युत् व्यवस्थापनमा केही कठिनाइ देखिएको र औद्योगिक क्षेत्रमा केही समय आंशिक लोड दिइने गरेको भएता पनि माग र आपूर्तिको व्यवस्थापनमा अधिकतम प्रयास गरिएको छ,’ प्राधिकरणद्वारा जारी सूचनामा भनिएको छ, ‘नेपालको नदीनालामा बहाव छिट्टै बढ्ने एवं भारतबाट पनि विद्युत् आपूर्ति बढ्ने अवस्था रहेकाले हाल देखिएको समस्या छिट्टै समाधान हुने विश्वास व्यक्त गर्दछौं ।’
प्राधिकरणले दुई कारण सुख्खा मौसम र भारतबाट मागअनुरूप आपूर्ति नहुँदा विद्युत् आपूर्तिमा समस्या भएको दाबी गरेको छ । यद्यपि, जानकारहरू व्यवस्थापकीय कमजोरीका कारणले पनि मागअनुसार विद्युत् आपूर्तिमा सकस परेको बताउँछन् ।
सुख्खा मौसमका कारण नदीनालाको बहाव कम हुँदा अहिले जलाशय र सौर्य ऊर्जासहित आन्तरिक औसत उत्पादन १ हजार १७५ र अधिकतम उत्पादन १ हजार ५९३ मेगावाट छ । जबकि, पिक आवरमा २ हजार ७७ मेगावाट विद्युत् माग हुने गरेको छ ।
त्यसैगरी, भारतबाट सम्झौताबमोजिमको विद्युत् नआउँदा पनि समस्या देखिएको छ । नेपालले भारतको पावर एक्सचेन्ज कमिटी (पिइसी) मार्फत बेलुका ६बजेदेखि बिहान ६ बजेसम्म १३२ केभी लाइनमार्फत अधिकतम ३५० मेगावाट विद्युत् आपूर्ति गर्ने अनुमति पाएको छ । तर बिहान २ बजेदेखि ६ बजे र बेलुका ६ बजेदेखि ७ बजेसम्म जम्मा ५० मेगावाट विद्युत् मात्र आपूर्ति भइरहेको छ ।
उता, भारतमा आइपिएल खेलले माग बढन पुग्दा आइइएक्सको दररेट पिइसीकोभन्दा बढी हुन गइ बिहारसँग जोडिएका १३२ केभी लाइनबाट अधिकतम प्रयास गर्दा पनि प्राधिकरणले विद्युत् आपूर्ति गर्न सकेकाे छैन ।
त्यसैगरी, इन्डियन एक्सचेन्ज मार्केट (आइइएक्स) बाट पनि चाहेअनुरूप विद्युत् आपूर्ति नभएकाे प्राधिकरणकाे सूचनामा उल्लेख छ । प्राधिकरणले आइइएक्समार्फत बिहान ६ देखि ५ र राति ११ बजेदेखि बिहान ४ बजेसम्म विद्युत् खरिद गर्दै आएको छ । तर राति ११ बजेदेखि बिहान ४ बजेसम्म तोकिएको अधिकतम मूल्यमा बोलकबोल गरी खरिद गर्न खोज्दा समेत मागेअनुसार पाउन सकेको छैन । प्राधिकरणका अनुसार, प्रो–राता आधारमा उसले सप्लाइ दिँदा मागको तुलनामा अत्यन्तै न्यून विद्युत् प्राप्त भएको हो ।
ताजा अपडेट
-
नवनियुक्त शिक्षा मन्त्रीपन्तले लिए शपथ
-
निर्वाह भत्ता कार्यान्वयन नगरे निजी मेडिकल कलेजका सुविधा रोकिने
-
डिपसिकले सहमतिबिना चिनियाँ कम्पनीलाई डाटा हस्तान्तरण गरेको दक्षिण कोरियाको आरोप
-
बाढीले अवरुद्ध गल्फागाड श्रीनगर सडक सञ्चालन
-
लोक सेवा आयोगद्वारा अधिकृत तहमा ११९० जनाको नियुक्ति
प्रतिक्रिया