विद्यार्थीलाई पढाइसँगै सीप सिकाउँदै बेनीका विद्यालय

म्याग्दी । बेनी नगरपालिकाले “हामी सक्छौँ, हामी गर्छौँ” कार्यक्रममार्फत विद्यार्थीलाई पढाइसँगै सीप सिकाउन थालेको छ । माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीलाई विद्यालयमै सीप सिकाउन “हामी सक्छौँ, हामी गर्छौँ” कार्यक्रम सञ्चालन भएको हो । विद्यार्थी र शिक्षालाई सीप र श्रमसँग जोड्न कार्यक्रम सञ्चालन गरिएको नगरप्रमुख सुरत केसीले जानकारी दिए ।
“माध्यमिक तहको शिक्षा हासिल गरेका विद्यार्थीले आफ्नो रुचिअनुसारको व्यवसाय गरी आयआर्जन र आफ्नो घर, टोल छिमेकमा आवश्यक पर्ने काम गर्न सक्ने बनाउने उद्देश्यले सीपमूलक तालिम सञ्चालन भएको छ”, उनले भने, “दक्ष, सीपयुक्त जनशक्ति उत्पादन गरेर रोजगारी सृजना, स्वरोजगार बन्ने सहयोग पुग्ने छ ।”
बेनी नगरपालिकाका १६ विद्यालयलाई आर्थिक वर्ष २०८१/८२ मा हामी सक्छौँ, हामी गर्छौँ कार्यक्रमका लागि रु. एक–एक लाखका दरले रु. १६ लाख बजेट विनियोजन गरेको छ । बाह्र वटा विद्यालयले कार्यक्रम कार्यान्वयनका लागि सम्झौता गरिसकेका र चार वटा सम्झौताको चरणमा रहेका बेनी नगरपालिकाको शिक्षा अधिकृत कमल ढकालले जानकारी दिए ।
पात्लेखेतको दीपक माविले च्याउ खेती सुरु र अर्थुंगेको जामुना खर्क माविले आधारभूत सौन्दर्यकला तालिम सञ्चालन गरेको छ । बेनीको बाल मन्दिर माविले पलम्बिङ, नेप्टेचौरको राष्ट्रिय माविले कपाल काट्ने, भकुण्डेको अर्जुन माविले भित्ते लेखन, अर्जमको रामचन्द्र माविले हाउस वायरिङ, भकिम्लीको जयन्ती माविले अकबरे खुर्सानी र तरकारी, भिरमुनिको पौलत्स्य माविले हाते ट्रयाक्टर मर्मत, पुलाचौरको जनकल्याण माविले बाँसका सामान बनाउने तालिम सञ्चालन गर्न सम्झौता गरेका छन् ।
बेनी सामुदायिक माविले शैलुन, प्रकाश माविले हाउस वायरिङ, तोरी पानीको गलेश्वर माविले प्राविधिक धारका विद्यार्थीलाई फिल्ड सर्वेक्षणसम्बन्धी सीप सिकाउन कार्यक्रम सम्झौता गरेको छ । गलेश्वरको जड भरत संस्कृत, सिंगाको धवलागिरि, तातोपानीको सरस्वती र रत्नेचौरको भानु माविले कार्यक्रम प्रस्ताव पेस गरेका छैनन् ।
आव २०७९/८० मा १० विद्यालयमा सञ्चालन भएको कार्यक्रम प्रभावकारी भएपछि २०८०/८१ र २०८१/८२ देखि नगरपालिकामा रहेका १६ वटै माध्यमिक विद्यालयमा सञ्चालन गरिएको हो । बिहान-बेलुकी विद्यार्थीको अनुकूल समयमा आलोपालो गरेर तालिममा सहभागी हुने व्यवस्था मिलाइएको छ । बेनी नगरपालिकाको सामुदायिक विद्यालयका करिब एक हजार विद्यार्थी सीपमूलक तालिममा सहभागी हुने अपेक्षा गरिएको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त
-
सन् २०२५-२०२९ औसत तापक्रम १.५ डिग्री सेल्सियसभन्दा माथि हुने सम्भावना ७० प्रतिशत : राष्ट्रसंघ
-
मोहम्मद अफताब आलम कारागारबाट छुटे
-
साउनयता चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले २८ गैँडा मरे
-
अर्थमन्त्रीले आगामी बजेट भोलि दिउँसो ३ बजे पेश गर्ने कार्यसूची तय
प्रतिक्रिया