जेठ १५ को आन्दोलन शान्तिपूर्ण र संयमित हुनेछ : राप्रपा
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहितका तीन राजनीतिक दलले यही जेठ १५ गते हुने आन्दोलन शान्तिपूर्ण र संयमित हुने जनाएको छ ।
राप्रपा, राप्रपा नेपाल र राष्ट्रिय शक्ति अभियानद्वारा आज आयोजित पत्रकार भेटघाटमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले आन्दोलन भद्र अवज्ञा प्रकृतिको हुने भएकाले आग्रह पूर्वाग्रह नराखी स्वतन्त्र अनुगमनका लागि सञ्चारजगत्सँग आग्रह गरे । उनले भने, ‘तीन पार्टीको घोषित उपत्यकाव्यापी आन्दोलन संविधान विरोधी नभई संविधानले दिएको सुविधाभित्रै रहेर शान्तिपूर्ण ढङ्गबाट हुनेछ ।’
राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीले अवलम्बन गरेका ‘एजेन्डा’ स्थापित गर्ने क्रममा हुन गइरहेको आन्दोलन शान्तिपूर्ण हुने बताए । उनले भने, ‘शान्तिपूर्ण आन्दोलनमा जनताको सहभागिताले राप्रपाको एजेन्डा स्थापित गर्न अन्य राजनीतिक दल र सरकारसँग वार्ताको वातावरण बनाउने छ ।’
राष्ट्रिय शक्ति अभियानका संयोजक केशरबहादुर विष्टले देशमा राजनीतिक स्थिरता र शान्ति सुव्यवस्थालाई सहज तुल्याउन आफूहरूले लामो समयदेखि उठाउँदै आएको मागलाई जनदबाब सिर्जना गरी सम्बोधन गर्न आह्वान गरिएको आन्दोलनलाई सहयोग पुर्याउन सबैसँग अनुरोध गरे ।
आन्दोलन परिचालन समितिका संयोजक नवराज सुवेदीले यही जेठ १५ गतेको आन्दोलन शान्तिपूर्ण, हिंसात्मक र सत्याग्रहमा आधारित हुने विश्वास दिलाए । उनले आन्दोलनलाई शान्तिपूर्ण तुल्याउन करिब दुई हजारको सङ्ख्यामा स्वयंसेवक परिचालन गरिने जानकारी दिए । –रासस
ताजा अपडेट
-
प्रधानमन्त्री भन्छन्- मलाई पनि राजदूत बन्न मन छ, पीएमको नम्बर दिनुस् न
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन


प्रतिक्रिया