नेपालमा भित्रियो कोरोना भाइरस,सातजना संक्रमित भेटिए
काठमाडौं- पछिल्लो समय भारत र चीन लगायत एसियाली मुलुकमा देखिन थालेको कोरोनाको नयाँ लहर नेपालमा पनि भेटिएको छ । भारतमा पछिल्लो समय समुदायस्तरमा फैलिएको कोरोना भाइरसबाट नेपालमा पनि सातजना संक्रमित भएका छन् ।
तत्कालको परीक्षण अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट एकजना र धुलिखेल अस्पतालमा ६ जनासहित ७ जनामा संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
महाशाखाका निर्देशक चन्द्रबल झाका अनुसार कोरोना संक्रमण देखिएका सबैको विदेश भ्रमणको हिस्ट्री छैन । उनका अनुसार सबै संक्रमित डिस्चार्ज भएर घर गइसकेका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र विभिन्न विज्ञहरूसँग छलफल गर्दा पहिलेको जस्तो डराउनुपर्ने स्थिति नरहेको उनले बताए । तर थोरै मात्रामा पनि बढ्ने अवस्थाको ख्याल गर्दै नियन्त्रणका लागि आवश्यक तयारी थालिएको उनले बताए ।
‘बिरामीहरूलाई निगरानीमै राखेका छौं । सीमा नाका तथा हवाई नाकामा हेल्थडेस्क राखिएको छ’, उनले भने ।
सातवटै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई तयारी अवस्थामा रहन भनिसकिएको उनले जानकारी दिए । परीक्षण कीट खरिदको लागि मन्त्रालयसँग अनुरोध गरिसकेको झाले जानकारी दिए ।
‘तत्काल महामारी नै फैलिने गरी बढ्ने सम्भावना त छैन । तर मास्क लगाउने, भिडभाडमा नजाने, साबुनपानीले हात धुने, लगायत आवश्यक सतर्कता अपनाउन जरुरी छ’, उनले भने।
अहिले भारत लगायत देशहरूमा देखिएको नयाँ भेरियन्ट सामान्य रहेको रिपोर्ट डब्लुएचओले पठाएको छ । ‘हाम्रोमा भेरियण्ट जाँच गर्न कम्तिमा ३०-४० वटा केश आए फ्रिक्वाइन्सी गर्ने भन्ने कुरा थियो । तर अहिले जनमानसमा त्रास फैलिएकाले थोरै केश भए पनि फ्रिक्वाइन्सी गर्ने विषयमा छलफल भइरहेको छ’, झाले भने ।
अहिलेको भेरियन्ट कडा नभए पनि दीर्घरोगी तथा बालबालिका र वृद्धवृद्धाहरु जोखिममा हुने भएकाले आवश्यक सर्ताकता अपनाउन विज्ञहरूले आग्रह गरेका छन् ।
ताजा अपडेट
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट


प्रतिक्रिया