NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

नेपालमा वंशवादमा आधारित निरंकुश राजतन्त्र सम्भव छैन : प्रचण्ड

गोरखा- नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा वंशवादमा आधारित निरंकुश राजतन्त्र अब असम्भव भएको बताएका छन्।

गोरखास्थित भीमसेन थापा गाउँपालिकाको प्रशासकीय भवनको आज उद्घाटन गर्दै उनले राजावादीले गर्न लागेको भनिएको आन्दोलनतर्फ लक्षित गर्दै २१ औँ शताब्दीको युगमा निरंकुश तन्त्र र वंशवादलाई जनताले स्वीकार गर्न नसक्ने बताए ।

नेपाली जनताले युद्ध र आन्दोलनबाट ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले फर्काउन नसक्ने अध्यक्ष दाहालको भनाइ छ । “राजावादी आन्दोलनका नाममा तीनकुने घटनापछि एउटा पात्र पछाडि राखेर फेरि अर्को पात्र सिङ्गारपटार गरेर अगाडि ल्याउन खोजिएको छ”, उनले भने, “यही १५ गतेदेखि फेरि आन्दोलनको कुरा गरिरहेका छन्, त्यो सफल त हुनेवाला छैन, तर पनि हामी सजग त हुनुपर्छ ।”

अध्यक्ष दाहालले जनतामा नैरास्यता बढाउने काम नगर्न आफूहरूले सरकारलाई पनि निरन्तर खबरदारी गर्दै आएको बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि नेपालमा गुणात्मक सुधार आएको उल्लेख गर्दै यसलाई थप सुदृढ गर्दै लैजानुपर्नेमा जोड दिए ।

शान्ति, संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रको निम्ति काँग्रेस र माओवादीबीच ऐतिहासिक सम्बन्ध बनेको भन्दै उनले शान्तिलाई दिगो बनाउनका लागि दुई दल मिलेर जानुको विकल्प नभएको उल्लेख गरे। “राजनीति र अरु कुरामा आफ्ना–आफ्ना फरक मत र विचार भए पनि शान्ति सम्झौतालाई दिगो बनाउन हामी मिलेर जानुको विकल्प छैन”, अध्यक्ष दाहालको भनाइ थियो ।

 

ताजा अपडेट

नेपालवाच विशेष