फोनेपे क्रेडिट कार्ड सुरु गर्ने पहिलो विकास बैंक बन्याे महालक्ष्मी विकास बैंक

काठमाडौं । नेपालको अग्रणी डिजिटल भुक्तानी सञ्जाल फोनेपेले महालक्ष्मी विकास बैंकसँगको साझेदारीमा महालक्ष्मी फोनेपे क्रेडिट कार्ड सार्वजनिक गरेको छ।
महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरूलाई फोनेपे क्रेडिट कार्ड सेवा प्रदान गर्ने पहिलो विकास बैंक बन्न सफल भएको हो। फोनेपे क्रेडिट कार्ड स्किमअन्तर्गत उपलब्ध यो सेवा पूर्ण रूपमा भर्चुअल छ र महालक्ष्मी बैंकको मोबाइल बैंकिङ एप ‘महालक्ष्मी स्मार्ट साथि’ मार्फत सजिलै पहुँच गर्न सकिन्छ।
यस कार्डमार्फत प्रयोगकर्ताहरूले नेपालभरका कुनै पनि फोनेपे क्युआर मर्चेन्टमा स्क्यान गरी भुक्तानी गर्न सक्छन्। यो कार्डले परम्परागत क्रेडिट कार्डका फाइदाहरू-जस्तै ४५ दिनको ब्याजरहित अवधि, लचिलो किस्ताबन्दी सुविधा, र क्युआरमार्फत सुरक्षित भुक्तानी-प्रदान गर्दछ।
कार्ड सार्वजनिक अवसरमा, महालक्ष्मी फोनेपे क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले ५०% सम्मको क्यासब्याक, अधिकतम रु ५०० सम्मको लाभ प्राप्त गर्न सक्नेछन्। सीमित अवधिको यो प्रमोशनले ग्राहकलाई क्युआर आधारित क्रेडिट भुक्तानीको सहजता र प्रयोगात्मक अनुभव दिलाउने उद्देश्य राखिएको छ।
साझेदारीबारे बोल्दै फोनेपाका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले यो साझेदारीले प्रत्येक नेपालीका लागि वित्तीय सेवा अझ सरल, आधुनिक र समावेशी बनाउन अर्को महत्वपूर्ण कदम भएको बताए ।
“फोनेपे क्रेडिट कार्ड सेवा सुरु गर्ने पहिलो विकास बैंकका रूपमा महालक्ष्मी विकास बैंक हाम्रो नेटवर्कमा सहभागी भएकोमा हामी गर्वित छौं। डिजिटल प्रविधिलाई अपनाउने उहाँहरूको नेतृत्वले उत्कृष्ट ग्राहक सेवा प्रदान गर्ने प्रतिबद्धता स्पष्ट देखिन्छ।” उनले भने ।
यस सुरुआतसँगै फोनेपे र महालक्ष्मी विकास बैंकले नेपालको क्रेडिट पहुँच र प्रयोगलाई नयाँ दिशातर्फ लैजाने उल्लेखनीय प्रयास गरेका छन्। अन्य वित्तीय संस्थाहरूले पनि चाँडै फोनेपे क्रेडिट कार्ड सेवा सुरु गर्ने तयारी गरिरहेका छन्, जसले देशलाई अझ स्मार्ट, सहज, र समावेशी डिजिटल बैंकिङ अनुभवतर्फ अघि बढाउने संकेत दिन्छ।
फोनपे नेपाल राष्ट्र बैंकबाट अनुमोदित तथा नियमनमा रहेको नेपालकै सबैभन्दा ठूलो भुक्तानी प्रणाली सञ्चालक हो। फोनेपेले बैंक तथा वालेट प्रयोगकर्ता र व्यवसायहरूलाई छरितो, सुरक्षित र भरपर्दो नगदरहित डिजिटल भुक्तानी सेवा प्रदान गर्दै नेपाललाई नगदरहित अर्थतन्त्रतर्फ लैजाने प्रयासमा सक्रिय भूमिका खेलेको छ। प्रविधिको प्रयोगमार्फत मोबाइल भुक्तानी सञ्जालमा नवप्रवर्तन ल्याउने र भुक्तानी प्रणालीको पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ।
प्रतिक्रिया