हरिशयनी एकादशीमा कालीगण्डकी नदीमा स्नान गर्नेको घुइँचो

पर्वत– हिन्दूहरूको पवित्र पर्व हरिशयनी एकादशी अर्थात् आषाढ शुक्ल एकादशीको दिन आज घरघरमा तुलसीको बिरुवा रोपिँदै छ ।
महत्त्वपूर्ण पर्व आषाढ शुक्ल एकादशीका अवसरमा पवित्र कालीगण्डकी नदीमा स्नान गर्नेहरूको बिहानैदेखि घुइँचो लागेको छ ।
प्रसिद्ध धार्मिक तीर्थस्थल मोदीवेणी, सेतीवेणीधाम, पुर्तिघाट, गोपाङ, नयाँपुल, खनियाघाट, मिलनचोक, वारीबेनीलगायत नदी तटमा बिहानैदेखि स्नान गर्नेको मेला लागेको हो ।
मोदी नदी र पवित्र मानिने कालीगण्डकी नदीको सङ्गमका रूपमा रहेको मोदीवेणीधाममा भजनकीर्तनसहित विशेष कार्यक्रम पनि राखिएको छ ।
त्यसैगरी, पर्वत, स्याङ्जा र गुल्मी तीन जिल्ला तथा गण्डकी र लुम्बिनी प्रदेशको सिसमानामा रहेको शालिग्राम शिला रहेको सेतीवेणीमा पनि स्नान गर्न टाढाटाढाबाट श्रद्धालु आइपुगेका छन् ।
मोदीवेणीमा स्नान गर्न पर्वत, बागलुङ, स्याङ्जा र कास्कीबाट हजारौँका सङ्ख्यामा श्रद्धालु आउने गर्छन् भने सेतीवेणीमा पनि बागलुङ, पर्वत, पाल्पा, अर्घाखाँची, स्याङ्जा र गुल्मीबाट श्रद्धालुहरू आएका छन् ।
मुक्तिनाथबाट बगेर आएको र साक्षात् विष्णुको अवतारका रूपमा पुजिँदै आएको शालिग्राम पाइने एकमात्र नदी भएकाले कालीगण्डकीमा स्नान गरी मोदीवेणी परिसरमा रहेको नृसिंह मन्दिरमा पूजा गरेमा मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।
कालीगण्डकीमा स्नान गरेमा एक हजार गाई दान गरे बराबरको पुण्य मिल्ने विश्वास रहिआएको छ । हरिशयनी एकादशीका अवसरमा मोदीवेणी र सेतीवेणीमा भजनकीर्तनसमेत आयोजना गरिएको छ ।
आजैका दिन कालीगण्डकीमा स्नान गरेर फर्केपछि घरघरमा रहेका तुलसीको मठमा तुलसी रोप्ने प्रचलन रहेको छ ।
तुलसीको बिरुवालाई धार्मिक तथा स्वास्थ्यको दृष्टिकोणले निकै महत्त्वपूर्ण मानिन्छ ।
यसै दिनदेखि चर्तुमास पर्व पनि सुरु भएको छ ।
ताजा अपडेट
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
-
ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड निष्काशन, कसरी दिने आवेदन ?
प्रतिक्रिया