NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २७ गते

अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा जमेका चलचित्र घरेलु बजारमा कमजोर !

काठमाडौं– पछिल्लो समय नेपाली चलचित्रले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा आफ्नो उपस्थिति बलियो बनाएका छन् । गत वर्ष सन् २०२४ मा बर्लिन चलचित्र महोत्सवको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा छनोट भएपछि नेपाली चलचित्र ‘शाम्बाला’ को राम्रै चर्चा भयो । यद्यपि गएको वर्ष विसं २०८१ को नेपालमा प्रदर्शन भएका चलचित्रको ‘बक्सअफिस’ तथ्याङ्क हेर्ने भो व्यापार राम्रो गर्न सकेको छैन ।

यही असार १६ मा चलचित्र विकास बोर्डले पछिल्लो २५ वर्षमा सर्वाधिक कमाई गर्ने २५ चलचित्रको नामावली सार्वजनिक ग¥यो । जहाँ कलात्मक रूपमा निर्माण गरिएका र अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नेपाललाई प्रतिनिधित्व गर्ने कुनै चलचित्र परेनन् । अर्थात् घरेलु बजारमा चलचित्र महोत्सवमा पुग्ने चलचित्र सफल हुन सकेका छैनन् ।

नेपाली दर्शकले घरेलु बजारमा ती चलचित्रलाई किन साथ दिइरहेका छैनन् भन्ने जिज्ञासामा चलचित्र निर्देशक सुवर्ण थापाले दर्शकमा स्थापित भएको भाष्य कारक मानेका छन् ।

‘अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पुग्ने चलचित्र बुझ्न कठिन हुन्छ, यो हाम्रो लागिभन्दा पनि विदेशीका लागि बनाइएको हो भन्ने भाष्य दर्शकमा स्थापित हुनु गलत हो । चलचित्र सबैका लागि निर्माण गर्छौं, विदेशी चलचित्र बुझ्ने दर्शकले स्वदेशी चलचित्र नबुझ्ने त हुँदैन होला । हाम्रो निर्माण शैली नियमितभन्दा फरक हुनसक्छ तर हामीले सबै दर्शकका लागि बनाएका हुन्छौँ’, निर्देशक थापाले भने ।

उनले चलचित्र विकास बोर्डले घरेलु बजारमा व्यापार गर्ने चलचित्रसँगै अन्तर्राष्ट्रिय महोत्सवमा नेपाललाई प्रतिनिधित्व गर्ने, नेपाली परिवेशलाई प्रस्तुत गर्ने र नेपाली कला, संस्कृतिको प्रवद्र्धन गरिरहेका कलात्मक चलचित्रलाई पनि प्रोत्साहन गर्नुपर्ने विचार राखे ।

निर्देशक थापाले भने, ‘घरेलु बजारमा व्यापार गरेका कुनै चलचित्रले अन्तर्राष्ट्रिय महोत्सवमा पुगेर नेपाललाई प्रतिनिधित्व गरेनन् । हामीले देशको परिवेश र संस्कृतिलाई लिएर विदेशी चलचित्रकर्मीसम्म पुर्‍याएका छौँ । अहिले कलात्मक रूपमा अन्य धेरै देशका भन्दा नेपाली चलचित्र अब्बल बन्ने गरेका छन् । यसलाई राज्य र घरेलु दर्शकबाट प्रोत्साहन चाहिएको छ ।’ उनले निर्देशन गरेको ‘सुनगाभा’, ‘राधा’ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पुगेका थिए ।

निर्देशक तथा समीक्षक दीपेन्द्र लामाले चलचित्रको व्यापार र कलात्मक पक्ष भिन्न रहेको बताए । चलचित्रको समीक्षा र व्यापारलाई तुलना गर्न नहुने उनको धारणा छ ।

उनले भने, ‘नेपालमा मात्र नभई छिमेकी मुलक भारत र हलिउडकै कलात्मक वा महोत्सवमा अब्बल साबित भएका चलचित्रहरू बक्सअफिसमा कम्जोर देखिएका छन् । हाम्रोभन्दा बजार ठूला भएकाले उनीहरुको व्यापार बढी भएजस्तो लागेको हो तर सर्वाधिक कमाउने चलचित्रको सूचीमा ती चलचित्र हुदैनन् । यस्तै, राम्रा चलचित्रको सूचीमा बक्सअफिसमा सफल चलचित्र पर्दैनन् । तर, ती कलात्मक वा महोत्सव केन्द्रित देखिएका चलचित्रलाई राज्यले प्रोत्साहन गर्नुपर्छ र बिस्तारै ती घरेलु बजारमा पनि अब्बल साबित हुन्छन् ।’

उनले घरेलु बजारमा महोत्सवमा अब्बल भनिएका चलचित्रको व्यापार कमजोर हुनुलाई दर्शकको स्वाद मेल नखाएको बताएका छन् । आफैँ चलचित्र समीक्षक हुँदा कलात्मक चलचित्रको प्रवर्द्धनमा जुटेका लामाले चलचित्र निर्देशक भएपछि त्यस्ता कलात्मक चलचित्र निर्देशन गर्न सकेका छैनन् ।

‘महोत्सवमा पुगेका चलचित्र र नेपाली दर्शकको स्वाद एकापसमा नमिलेको हुनसक्छ । यो स्वाभाविक पनि हो, किनकि हामीले विश्व चलचित्रसँग प्रतिस्पर्धा गर्ने काम गरिरहँदा त्यो सबैका लागि उपयुक्त नहुन पनि सक्छ । तर, त्यस्ता चलचित्रको निर्माण निरन्तर हुनुपर्छ अनि मात्र हामीले घरेलु दर्शकको सङ्ख्या बढाउन सक्छौँ’, निर्देशक लामाले भने ।

अभिनेत्री केकी अधिकारीले नेपाली चलचित्रले अन्तर्राष्ट्रिय महोत्सवमा पुग्दा आफूलाई खुसी लाग्ने बताइन् । ‘म ती चलचित्रको दर्शक हुँ, म कुर्ने गर्छु । तर, म जस्ता दर्शक कम भएका हुन् कि जस्तो लाग्छ । कहिलेकाहीँ ती चलचित्रको चर्चा हुँदा ती चलचित्र भवनमा हुँदैनन् । यस्ता विभिन्न तथ्यले गर्दा महोत्सवमा अब्बल भनिएका चलचित्र घरेलु बजारमा कमजोर भएका छन्’, उनले भनिन् ।

अभिनेत्री अधिकारीले भनिन्, ‘म चलचित्रमा निर्मात्रासँगै अभिनेत्री पनि थिएँ । हामीले उठान गरेका विषय अन्तर्राष्ट्रिय महोत्सवमा पुग्नुपर्छ भन्ने लागेको थियो । तर, निर्माताका रूपमा मैले चलचित्र प्रदर्शन हुनु नै सफलता हो भन्ने ठाउँमा पुगे, सङ्घर्ष धेरै भए । हामीले चाहेका चलचित्र महोत्सवमा पठाउन नमिल्ने रहेछ, अन्यमा पठाउन मसहित चलचित्र निर्माण समूहको निर्णय भएन ।’

उनको चलचित्र अन्तर्राष्ट्रिय चलचित्र महोत्सव नपुगे तापनि घरेलु बजारमा राम्रो व्यापार गर्न सफल भयो । उक्त चलचित्रले १० करोड रुपैयाँ व्यापार गरेको तथ्याङ्क चलचित्र विकास बोर्डमा छ ।

घरेलु बजारमा सर्वाधिक कमाई गर्ने चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ का निर्माता विनोद पौडेलले घरेलु बजार र अन्तर्राष्ट्रिय महोत्सवमा पुग्ने दुवै किसिमका चलचित्र चाहिने बताए ।

‘हामीले कलात्मक भन्ने ‘आर्टहाउस फिल्म’ र व्यासायिक भन्ने दुवै किसिमका चलचित्र बनाउनुपर्छ । किनकि घरेलु बजारसँगै अन्तर्राष्ट्रिय उपस्थिति महत्त्वपूर्ण छ । अहिले राज्यको प्रोत्साहन दुवैलाई चाहिएको छ’, निर्माता पौडेलले भने ।

आफ्नो पहिलो चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ प्रदर्शनका क्रममा गर्नुपरेको सङ्घर्षलाई स्मरण गर्दै उनले चलचित्र भवन सञ्चालकले नेपाली चलचित्रलाई दायित्वका रूपमा पनि बुझ्नुपर्ने बताए ।

‘म अस्ट्रेलियामा चलचित्र वितरण गर्थे । त्यहाँ एक हप्ताको ‘शो’ निकालिएपछि घटाइने वा हटाइने हुँदैन, यसले स्थिर बनाउनाका साथै दर्शकले आफ्नो समयअनुसार चलचित्र हेर्ने सोच बनाउँछन् । तर, यहाँ ‘शो’ कतिबेला हट्छ भन्ने थाहै हुँदैन, त्यसैले यसमा स्थिरता भएमा घरेलु बजारमा हामीले चर्चा गरिरहेको दुवै चलचित्रलाई लाभ हुन्छ भन्ने मलाई लाग्छ’, निर्माता पौडेलले भने ।

चलचित्र महोत्सवलाई लक्षित गर्दै निर्माण गरिएका चलचित्रमा ‘गाउँ आएको बाटो’ ले घरेलु बजारमा चार करोड रुपैयाँको व्यापार गरेको थियो । ‘आर्टहाउस फिल्म’ भनिएको ती चलचित्रको सूचीमा ‘गाउँ आएको बाटो’ नै अहिलेसम्म सर्वाधिक कमाउने चलचित्र बनेको छ । रासस

 

ताजा अपडेट

नेपालवाच विशेष