NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

शिक्षासहित पाँचवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा संसदीय समितिको बैठक बस्दै छन् । आइतबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, महिला तथा सामाजिक मामिला समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, कानून, न्याय तथा मानवअधिकार समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेका हुन् ।

सबै समितिका बैठक बिहान ११ देखि दिउँसो १ बजेको बीचमा सिंहदरबारस्थित आआफ्नै कार्यकक्षमा बस्ने छन् ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मिडिया काउन्सिल विधेयकमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, महिला तथा सामाजिक मामिला समितिको बैठकमा मधेसी आयोगको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८०–०८१) माथि छलफल हुनेछ ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित प्रतिवेदनमाथि छलफल गर्ने तयारी छ ।

कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा विश्वव्यापी आवधिक समीक्षा सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसँग सम्बन्धित छलफल हुनेछ ।

यसैगरी, विधायन व्यवस्थापन समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।