मेलम्चीको पानी पुनःवितरण सुरु
काठमाडाैं । मेलम्चीको पानी काठमाडौँ आइपुगेर आजैदेखि नियमित वितरण सुरु भएको छ । आज खानेपानीमन्त्री उमाकान्त चौधरीले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, बानेश्वर शाखाको कार्यालयमा चाबी खोलेर पुनःवितरण सुरु गरेका हुन् ।
आज पाँच करोड लिटर पानी वितरण गरिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले जनाएको छ । पहिलो दिन महांकाल चौर र नयाँ बानेश्वर शाखाबाट पानी वितरण हुँदैछ । भोलिबाट थप पानी आउने र थप स्थानमा वितरण गरिने भएको छ ।
सो अवसरमा मन्त्री चौधरीले आफूले मन्त्रालयको जिम्मेवारी सम्हाल्दा गरेको प्रतिबद्धताका आधारमा पानी ल्याइएइको बताए । उनका अनुसार अझै पनि कतिपय संरचना सम्पन्न हुन बाँकी भएकामा तत्कालका लागि पानी पथान्तरण गरिएको उनले बताए । गतवर्ष बाढीपहिराका कारण मुहानको माथिल्लो तटीय क्षेत्रमा पुगेको क्षतिका बारेमा दातृ निकाय एशियाली विकास बैंकले विस्तृत अध्ययन गरिरहेको उनले बताए ।
सो अध्ययनको प्रतिवेदन आएपछि सबै निकायसँगको समन्वयमा मर्मत गरिने उनले बताए । उनले भने, ‘वर्षायाममा मेलम्चीमा क्षति पुग्ने भए पनि पूर्वसूचना दिने प्रणाली सुरु गरिएको छ ।’ खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले अहिले अस्थायी प्रक्रियाबाट पानी काठमाडौँ ल्याइएको बताए ।
उपत्यकामा रहेका १० ट्यांकीबाट खानेपानी वितरण गरिनेछ । वर्षामा सुरुङ बन्द गर्नुपर्ने अवस्था आउँदा बागमतीको पानी वितरण गरिने उनले जानकारी दिए । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीव विक्रम राणाले गतवर्ष नभएकामा यसवर्ष भक्तपुरमा पनि पानी वितरण गरिने बताए । एक दुई दिन बिराएर उपभोक्ताका घरघरमा पानी वितरण हुने उनको भनाइ छ ।
आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख राजेन्द्र सापकोटाले निर्देशनालयले सुन्दरीजलबाट उपभोक्ताका घरघरमा पानी पु-याउन आवश्यक संरचना निर्माण गरेको बताए । आवश्यक संरचना निर्माण सकिएको उनको भनाइ छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले गतवर्ष केही समय पानी वितरण गरिएको भए पनि बाढीका कारण वितरण ठप्प हुँदा नागरिक निराश भएको बताए । उनका अनुसार अहिले पुनः पानी आउँदा नागरिकमा आशा पलाएको छ ।
लिमिटेडका बानेश्वर शाखा प्रमुख नारायण कर्णले शाखाले तालिका प्रकाशित गरेर आम उपभोक्तालाई पानी वितरणबारे जानकारी गराइरहेको बताए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया