नेप्सेमा हरियाली, ९५ अंकले उकालो

काठमाडाैं । साताको पहिलो दिन नेप्से उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सेञ्च (नेप्स) का अनुसार आज नेप्से ९५.५२ अंकले बढेको र २४२०.९६ विन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १७.७४ अंकले बढेर ४६०.८८ मा पुगेको छ ।
आज नेप्से बढेसँगै कारोबार रकम पनि बढेको छ । आज कुल २३८ कम्पनीको ६६ लाख ३९ हजार ५०४ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ५३ करोड १२ लाख ७५ हजार ५९३ रूपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएको छ । आज सबैभन्दा धेरै वित्त कम्पनीको सेयरमूल्य बढेको छ । उक्त कम्पनीको सेयरमूल्य ८.६ प्रतिशतले बढेको हो ।
होटल तथा पर्यटन २.८३, विकास बैंक ६.५७, जलविद्युत् ७.३२, उत्पादन २.८६, लघुवित्त ३.०८, जीवन बीमा ३.३६ र लगानी ५.६६ अंकले उकालो लागेको छ । त्यस्तै बैंकिङ २.६८, व्यापार १.०५, सामूहिक लगानी २.०६ प्रतिशत र निर्जीवन बीमा ४.१३ प्रतिशतले बढेको छ । अन्यको सेयर मूल्य ४.९७ प्रतिशतले बढेको छ ।
आज १० कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै अर्थात १० प्रतिशतका दरले कमाएका छन् । युनिर्भसल पावर कम्पनी, अरूण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, बेस्ट फाइनान्स कम्पनी, घलेम्दी हाइड्रो लिमिटडेका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । त्यस्तै हिमाल दोलाखा हाइड्रोपावर, जानकी फाइनान्स लिमिटेड, खानीखोला हाइड्रोपावर कोअपरेटिभ लिमिटेड, मन्जुस्री फाइनान्स, नेशनल हाइड्रोपावर कम्पनी, इन्भेष्टमेन्ट फाइनान्स र युनिभर्सल पावर कम्पनीका लगानीकर्ताले पनि १० प्रतिशतका दरले कमाएका छन् ।
नेप्सेका अनुसार कारोबारका आधारमा सानिमा बैंकको संस्थापक सेयरको कारोबार शीर्ष स्थानमा छ । सो बैंकको २२ करोड बराबरको कारोबार भएको छ ।
नेपाल इन्भेस्टमेन्ट बैंकको ऋणपत्र ९.८९, नेष्डो समृद्धि लघुवित्त २.८५, लक्ष्मी बैंकको ऋणपत्र २ र सिद्धार्थ इक्विटी फण्डका लगानीकर्ताले ०.५७ प्रतिशतले गुमाएका छन्
प्रतिक्रिया