NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

आरेन राई : जातीय विभेदविरुद्धको आन्दोलनदेखि सांसदसम्म

खोटाङ -खोटाङको केपिलासगढी गाउँपालिका– १ फेदीस्थित सुम्देका आरेन राई खोटाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । श्रम संस्कृति पार्टीका केन्द्रीय महासचिवसमेत रहेका २९ वर्षीय राईले १६ हजार ६१२ मत प्राप्त गरेका छन् ।

उनी मङ्गोल नेसनल अर्गनाइजेसन पार्टीका सर्वोच्चसभा सदस्य एवं आर्थिक विभाग प्रमुख पद परित्याग गरेर श्रम संस्कृति पार्टी प्रवेश गरेका थिए । राई पहिचानवादी नेताका रूपमासमेत परिचित छन् । सानै उमेरदेखि विभिन्न संघ/संस्थामा आबद्ध रहेर सामाजिक काम गर्दै खुला राजनीतिमा आएका राईले अब प्रतिनिधिसभामा गएर भुइँ मान्छेको हित हुने किसिमको नीति निर्माण तथा उनीहरूको आवाज बुलन्द गर्ने प्रतिबद्धता जनाएका छन् ।

२०७४ सालसम्म राष्ट्रवादी केन्द्र नेपाल अभियानका केन्द्रीय सदस्य रहेर सामाजिक अभियानमा खटिएका उनी स्नातक तहमा अध्ययनरत विद्यार्थी हुन् ।

जातीय विभेदविरुद्धको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका राईले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– १० पाथेकाकी प्रमिला बिसुका (सार्की)सँग अन्तरजातीय विवाह गरेका छन् । श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईको गृहजिल्ला खोटाङमा सोही पार्टीका महासचिव राईको उम्मेदवारी घोषणालाई महत्त्वका साथ हेरिएको थियो । पार्टी स्थापना भएको तीन महिनामै देशभरका जनताको उत्साह र समर्थनले जिल्लामा आफूहरूको जित भएको श्रम संस्कृति पार्टी खोटाङका अध्यक्ष प्रताप राईले बताएका छन् ।

दुई स्वतन्त्रसहित १५ जना उम्मेदवार रहेको खोटाङमा पुरानै राजनीतिक दलका उम्मेदवारबीच प्रतिस्पर्धा हुने राजनीतिक विश्लेषकहरूले बताउँदै आएका थिए । श्रम संस्कृति पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूचीमा पनि खोटाङका पाँच जना नेताको नाम समावेश छ । आदिवासी जनजाति महिला कोटामा पार्टीका जिल्ला उपाध्यक्ष उमा चाम्लिङ राई, चन्द्रकला याखा र समला राई, आदिवासी जनजाति पुरुष कोटामा सीताराम राई तथा दलित महिला कोटामा कोपिला घिमिरे छन् ।