NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

ठमेल क्षेत्रमा अनैतिक क्रियाकलाप गर्ने २० विदेशी महिला प्रहरी नियन्त्रणमा

काठमाडौँ । राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलबाट अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले २० जना विदेशी महिलालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पक्राउ परेका सबै महिला युगान्डाका नागरिक हुन्। प्रहरीका अनुसार ठमेल क्षेत्रमा उनीहरूले सार्वजनिक स्थानमा अभद्र व्यवहार गर्दै अवाञ्छित गतिविधि गरिरहेको सूचनाका आधारमा कारबाही गरिएको हो।

प्रहरीले काठमाडौँ महानगरपालिका–२६ अन्तर्गत फायरचोक आसपासको सडक क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। सो क्षेत्रमा पैदल यात्रु तथा पर्यटकहरूलाई अवरोध पुर्‍याउने तथा अश्लील क्रियाकलापका नाममा मोलमोलाइ गर्ने गतिविधि भइरहेको अवस्थामा उनीहरू फेला परेका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार पक्राउ परेकामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट १२ दिनको म्याद अनुमति लिइएको प्रहरीले जनाएको छ।

प्रहरीले पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक शान्ति–सुरक्षा कायम राख्न तथा अनैतिक गतिविधि नियन्त्रण गर्न नियमित निगरानी र कारबाहीलाई निरन्तरता दिने जनाएको छ।