NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

शैक्षिक सत्र सुरु हुनुअघि नै भर्ना लिए कारवाही हुने

काठमाडौँ  – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयहरूलाई नयाँ शैक्षिक सत्र सुरु भएपछि मात्रै विद्यार्थी भर्ना गर्न निर्देशन दिएको छ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा केही संस्थागत विद्यालयहरूले कानुनी व्यवस्था विपरीत अग्रिम रूपमा भर्ना खुलाएर अभिभावकबाट उच्च शुल्क असुल्ने गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।

यसैलाई ध्यानमा राख्दै मन्त्रालयले तोकिएको समयभन्दा अघि भर्ना प्रक्रिया सञ्चालन नगर्न स्पष्ट निर्देशन दिएको हो। साथै, अवैध रूपमा असुल गरिएको भर्ना शुल्क अभिभावकलाई फिर्ता गराउन आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सम्बन्धित स्थानीय तहहरूलाई आग्रह गरिएको छ।

मन्त्रालयले तोकिएको समयभित्र शुल्क फिर्ता नगर्ने विद्यालयलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ।

विद्यालय सञ्चालनजस्तो संवेदनशील र जिम्मेवार क्षेत्रमा यस्ता गैरकानुनी गतिविधि अस्वीकार्य र दण्डनीय हुने भन्दै मन्त्रालयले सबै विद्यालयलाई नियम पालना गर्न सचेत गराएको छ।