NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो ७ दिने स्पष्टीकरण

ललितपुर – नेपाली कांग्रेस को केन्द्रीय अनुशासन समितिले पूर्वउपसभापति पूर्णबहादुर खड्का सँग ७ दिनभित्र स्पष्टिकरण माग्ने निर्णय गरेको छ।

पार्टीको केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन मा संयोजक तारामान गुरुङ को अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो।

समितिका अनुसार, चैत १४ गते नक्कली लेटरप्याड प्रयोग गरी भ्रामक प्रेस विज्ञप्ति जारी गरिएको विषयमा यसअघि नै सचेत गराइएको थियो। तर त्यसपछि पनि चैत ३० गते पुनः त्यही प्रकारको अनधिकृत विज्ञप्ति जारी गरिएको पाइएपछि उक्त कार्य पार्टी विधानविपरीत ठहर गरिएको हो।

नेपाली कांग्रेस को विधान २०१७ (संशोधनसहित) को धारा ३४, उपधारा ८ (घ) अनुसार खड्कालाई स्पष्टिकरण सोध्ने निर्णय गरिएको जनाइएको छ।

यसैबीच, प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सन्दर्भमा पार्टीभित्र अनुशासन उल्लंघनसम्बन्धी उजुरी दर्ता गर्ने म्याद २०८३ वैशाख मसान्तसम्म थप गरिएको छ। यसअघि चैत मसान्तसम्म तोकिएको समयसीमा विस्तार गरिएको हो।

समितिले नयाँ समयसीमाभित्र प्राप्त उजुरीहरूका आधारमा मात्र कारबाही प्रक्रिया अघि बढाइने र त्यसपछि प्राप्त उजुरीहरूलाई विचार नगरिने स्पष्ट गरेको छ।