हिमालयन बैंक अब फोनेपे नेटवर्कमा
काठमाडौं । फोनेपे पेमेन्ट सर्भिस लिमिटेड (फोनेपे) ले हिमालयन बैंक लिमिटेडलाई आफ्नो नेटवर्कमा औपचारिक रूपमा आबद्ध गरेको छ। यस सहकार्यलाई नेपालको डिजिटल भुक्तानी प्रणालीको विकासमा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ, जसले विस्तृत भुक्तानी पूर्वाधारलाई एक अग्रणी निजी वाणिज्य बैंकसँग जोडेको छ।
सन् १९९३ मा स्थापना भएको हिमालयन बैंक नेपालका निजी बैंकहरूमध्ये एक हो। आधुनिक बैंकिङ सेवा भित्र्याउन अग्रणी भूमिका खेलेको यो बैंकले देशभर फैलिएको शाखा सञ्जाल र बलियो ग्राहक आधार निर्माण गरेको छ। अब फोनेपे नेटवर्कसँगको एकीकरणपछि बैंकका ग्राहकहरूले देशभर सहज रूपमा क्यूआर आधारित डिजिटल भुक्तानी सेवा प्रयोग गर्न सक्ने अपेक्षा गरिएको छ।
फोनेपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले हिमालयन बैंकलाई नेटवर्कमा स्वागत गर्नु नेपालको नगदरहित अर्थतन्त्रतर्फको यात्रामा महत्वपूर्ण उपलब्धि भएको बताए । उनले बैंकको विश्वास र पहुँचसँगै फोनेपेको व्यापक व्यापारी सञ्जाल जोडिँदा डिजिटल भुक्तानीको विस्तार अझ तीव्र हुने विश्वास व्यक्त गरे।
त्यसैगरी, हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक एसजेबी राणाले फोनेपे नेटवर्कमा आबद्ध हुनु बैंकको नवप्रवर्तन र ग्राहक केन्द्रित सेवाको निरन्तरता भएको बताउँदै उनले यसले ग्राहकलाई छिटो, सुरक्षित र सहज डिजिटल भुक्तानी अनुभव प्रदान गर्ने बताए ।
हाल यो साझेदारी प्राविधिक एकीकरणको चरणमा रहेको छ। प्रक्रिया पूरा भएपछि हिमालयन बैंकका ग्राहकहरूले फोनेपे नेटवर्कका सबै सेवा प्रयोग गर्न सक्नेछन्। फोनेपे नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त भुक्तानी प्रणाली सञ्चालक हो। एफ वान सफ्ट समूह अन्तर्गत रहेको यस कम्पनीले बैंक, वित्तीय संस्था, डिजिटल वालेट, व्यापारी र उपभोक्ताहरूलाई एउटै सञ्जालमा जोड्दै आएको छ।
यस साझेदारीसँगै फोनेपेले नेपालको डिजिटल अर्थतन्त्रलाई थप सुदृढ बनाउने आफ्नो लक्ष्यलाई अझ मजबुत बनाएको छ। साथै, कम्पनीले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत सार्वजनिक कम्पनी बन्ने तयारी पनि गरिरहेको छ, जसलाई २०२६ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया