काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदान र नेपाल क्रिकेट संघ (क्यान) बीचको भाडा सम्झौता छिटै नवीकरण हुने सरकारका तर्फबाट स्पष्ट गरिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री सस्मित पोखरेलले त्रिविका उपकुलपति लगायत उच्च पदाधिकारीसँग हालै सकारात्मक छलफल भएको जानकारी दिए। उनका अनुसार मैदान खाली गराउने भन्दा पनि भाडा सम्झौता नवीकरण गर्ने तयारी भइरहेको छ।
“आज बिहान त्रिवि उपकुलपतिसहित बैठक भयो। सकारात्मक छलफल भएको छ। खाली गराउने होइन, भाडा सम्झौता नवीकरण गर्ने हो,” मन्त्री पोखरेलले भने, “राज्यको ठूलो लगानी भएको संरचना भएकाले लिज सम्झौता पुनः गर्नुपर्छ।”
सरकारले अतिक्रमित जग्गा फिर्ता ल्याउने अभियान सञ्चालन गरेपछि त्रिविले गत वैशाख ४ गते सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित निकायलाई जग्गा खाली गर्न निर्देशन दिएको थियो। सोही निर्णयअनुसार त्रिविको रजिस्ट्रार कार्यालयअन्तर्गत सामान्य प्रशासन महाशाखाले क्यानलाई पनि पत्राचार गरेको छ।
त्रिवि र क्यानबीचको हालको करार सम्झौता यही वैशाख मसान्तमा सकिँदैछ।
प्रतिक्रिया