NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २० गते

अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो

काठमाडौँ- अमेरिकी सेनाले इरानविरुद्ध रातभरि आत्मरक्षात्मक आक्रमण गरेको र इरानले प्रहार गरेका मिसाइल तथा ड्रोनहरू खसालेको दाबी गरेको छ। अमेरिकी सेनाको मध्य कमान्ड (सेन्टकम) का अनुसार होर्मुज जलमार्गस्थित केस्म टापुमा गरिएको आक्रमण पश्चिम एसियामा इरानले गरेको आक्रमण प्रयासको जवाफस्वरूप गरिएको बीबीसीले उल्लेख गरेको छ।

इरानले भने मिसाइल र ड्रोनमार्फत क्षेत्रीय एक देशमा रहेका अमेरिकी सैन्य अड्डा र हेलिकोप्टरहरूलाई निसाना बनाएको दाबी गरेको छ। सेन्टकमका अनुसार इरानले कुवेततर्फ दुई र बहराइनतर्फ तीन मिसाइल प्रहार गरेको थियो। ती सबै मिसाइल या त बाटोमै नष्ट भए वा प्रतिरक्षा प्रणालीले खसाल्यो।

कुवेतको सेनाले इरानी ड्रोन आक्रमणबाट अन्तर्राष्ट्रिय विमानस्थलमा क्षति पुगेको र केही व्यक्ति घाइते भएको जनाएको छ। घटनापछि बुधबार बिहान हवाई सेवा स्थगित गरिएको थियो। कुवेतका रक्षा मन्त्रालयका प्रवक्ता ब्रिगेडियर जनरल साउद अब्दुलअजिज अल–ओतैबीले आक्रमणलाई इरानको आपराधिक आक्रामकता भन्दै निन्दा गरेका छन्।

अमेरिका र इरानबीच युद्धविरामसम्बन्धी वार्ता ठप्प भइरहेका बेला यी घटना भएका हुन्। महिनौँदेखि जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले भएको पछिल्लो वार्ताले पनि कुनै प्रगति गर्न सकेको थिएन।

सेन्टकमका अनुसार केस्म टापुमा गरिएको आक्रमण इरानी सैन्य नियन्त्रण केन्द्रलाई लक्षित थियो। साथै इरानले नागरिक जहाजहरूतर्फ पठाएका तीन ड्रोन पनि अमेरिकी सेनाले खसालेको जनाएको छ।

इरानी रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले भने होर्मुज जलमार्गमध्यको सुरक्षामा हस्तक्षेप गर्ने अमेरिकी कदमको ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ।

यसैबीच, सेन्टकमले अप्रिल १३ देखि लागू गरिएको होर्मुज जलमार्ग मध्यको नाकाबन्दीका क्रममा इरानतर्फ गइरहेको एउटा तेल ट्यांकरलाई निष्क्रिय बनाएको जनाएको छ। अमेरिकी विमानले बोत्स्वाना झन्डा बोकेको उक्त जहाजको इन्जिन कक्षमा हेलफायर मिसाइल प्रहार गरेको सेन्टकमको दाबी छ। उसका अनुसार चालकदलले पटकपटक दिइएको चेतावनी बेवास्ता गरेपछि यस्तो कदम चालिएको हो।

सेन्टकमले नाकाबन्दी सुरु भएयता छवटा व्यावसायिक जहाज निष्क्रिय पारिएको र १२२ वटा जहाजको मार्ग परिवर्तन गरिएको जनाएको छ।

तनावका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान सम्झौताका लागि तयार रहेको दाबी गर्दै त्यसबाट अमेरिका लाभान्वित हुने बताएका छन्। अमेरिकी सञ्चारमाध्यमका अनुसार ट्रम्पले सम्भावित शान्ति सम्झौताका केही सर्त संशोधन गर्न पनि आग्रह गरेका छन्।

इरानका परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले त्यस्तो प्रस्तावबारे कुनै छलफल नभएको दाबी गर्दै वासिङ्टनले बारम्बार आफ्नो अडान परिवर्तन गरिरहेको आरोप लगाए।

यसैबीच, युद्ध सुरु भएयता पहिलोपटक अमेरिकी परराष्ट्रमन्त्री मार्को रुबियो कंग्रेसमा उपस्थित भएका छन्। उनले होर्मुज जलमार्गमध्य पुनः खोल्ने सर्तमा इरानलाई प्रतिबन्धबाट छुट दिने प्रस्ताव अमेरिकाले नगरेको स्पष्ट पारे।

रुबियोले इरानको आणविक कार्यक्रमसँग सम्बन्धित विषय समाधान भएमा मात्र प्रतिबन्धमा कुनै राहत सम्भव हुने बताए। उनले सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा ‘युद्ध समाप्त भइसकेको छ’ समेत बताएका छन्।

ताजा अपडेट

नेपालवाच विशेष