NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत आयोजनाको लागि वित्तीय व्यवस्थापनसम्बन्धि दुई पक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।

यस आयोजनाको प्रवद्र्धक कम्पनी क्रिष्टल पावर डेभलपमेण्ट प्रा.लि. र सहभागी बैंकहरुबिच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो ।
उक्त सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको उपस्थितीमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दिप चन्द्र रेग्मी र क्रिष्टल पावर डेभलपमेण्ट प्रा. लि. का कार्यकारी प्रमुख कृष्णप्रसाद आचार्यलगायत सहअगुवाई तथा सहभागि बैंकहरुका प्रतिनिधिहरुले हस्ताक्षर गरेका हुन्।

कूल २५ अर्ब रुपैयाँ अनुमानित लागत रहेको उक्त आयोजनामा ग्लोबल आइएमई बैंकको अगुवाइ, सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, प्रभु बैंक सहअगुवाई र कृषि विकास बैंक र नेपाल एसबिआई बैंकको सहभागितामा बनेको कन्सोर्टियमले करिब १९ अर्ब रुपैयाँ लगानी गर्नेछ ।

जसमध्य ग्लोबल आइएमई बैंकले ५ अर्ब रुपैयाँ, सिद्धार्थ बैंकले ४ अर्ब रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ४ अर्ब रुपैयाँ, प्रभु बैंकले ३ अर्ब ५० करोड रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब ५० करोड तथा नेपाल एसबिआई बैंक १ अर्ब रुपैयाँ लगानी गर्ने छन् । सम्झौतापश्चात् ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले यस आयोजना निर्धारित समयसिमाभित्र सम्पन्न भई राज्यको उर्जा उत्पादन क्षमतामा वृद्धिहुने र निर्यात प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास बैंकको रहेको छ ।

ताप्लेजुङ्ग जिल्लाको फक्ताङलुङ गाँउपालिकाका स्थित तमोर नदिमा निमार्ण हुने १६६ मेगावाट क्षमताको जलविद्युत आयोजनाको अनुमानित लागत २५ अर्ब रुपैयाँ रहेको छ । सम्झौताअनुशार बैंकले ७५ प्रतिशत लगानी गर्नेछ र बाँकी २५ प्रतिशत रकम संस्थापक तथा अन्य लगानीकर्ताबाट लगानी व्यवस्थापन गरिनेछ ।

यो आयोजना निर्माण सुरु भएको मितिबाट ५ वर्ष भित्र निर्माण सम्पन्न हुने छ । ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।

बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४, २०२५ र २०२६, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरु प्राप्त गरिसकेको छ । ग्लोबल आइएमई बैंक मुलुकको ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकको ३४४ शाखा कार्यालय, ३८५ एटिएम, १४७ शाखा रहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।