NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २५ गते

वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

गलत विवरण पेस गरी अर्की महिलाको छोरीलाई आफ्नो छोरीका रूपमा देखाई नागरिकता दिलाएको अभियोगमा अनुसन्धानपछि मुद्दा दायर गरिएको हो।

अनुसन्धान प्रतिवेदनअनुसार मेयर सिंहले वडा कार्यालय र जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरूसँग मिलेमतो गरी भट्टराई थरकी महिलाको छोरीलाई आफ्नो छोरी ‘रुविना श्रेष्ठ’ का रूपमा जन्मदर्ता गराएको र सोही आधारमा नागरिकता प्रमाणपत्र दिलाएको देखिएको अख्तियारले जनाएको छ।

आरोपपत्रमा उल्लेख भएअनुसार वि.सं. २०७१ साल कात्तिक २० गते वीरगन्ज महानगरपालिका वडा नं. ३ मा जन्मदर्ता प्रमाणपत्र जारी गरिएको थियो। सोही जन्मदर्ताका आधारमा २०७५ साल साउन १३ गते जिल्ला प्रशासन कार्यालय, पर्साबाट नागरिकता प्रमाणपत्र जारी गरिएको बताइएको छ।

आयोगका अनुसार तत्कालीन वडा सचिव भिखारी राय, तत्कालीन वडा सदस्य तथा कार्यवाहक वडा अध्यक्ष तुफैल अख्तर ठकुराई, जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षड कुमार पोख्रेल तथा गृह मन्त्रालयका तत्कालीन उपसचिव (छानबिन समितिका संयोजक) पुष्कर राना र शाखा अधिकृत पर्शुराम पोखरेलसमेतको संलग्नता देखिएको छ।

छानबिन समितिले गलत प्रतिवेदन तयार गरी वास्तविक तथ्य लुकाएको र कागजात नष्ट गर्ने तथा ढाकछोप गर्ने कार्यसमेत भएको आरोपपत्रमा उल्लेख गरिएको छ।

अख्तियारले सबै प्रतिवादीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद र जरिवानासहित सजायको मागदाबी गर्दै मुद्दा दायर गरेको जनाएको छ।

ताजा अपडेट

नेपालवाच विशेष