NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असार ८ गते

धान रोपाईँ सुरु, किसानलाई फेरी रासायनिक मलको चिन्ता

काठमाडौँ । विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि किसानले रासायनिक मल अभाव व्यहोर्नुपर्ने देखिएको छ।

असार लागेसँगै मुलुकका विभिन्न जिल्लामा धान रोपाइँ सुरु भएको छ । किसानहरुले धान खेती सुरु गरिसक्दा मलको अभाव हुने देखिएको हो। धान रोपाइँको मुख्य सिजनमा किसानको पहिलो आवश्यकता भनेकै रासायनिक मल हो।

सरकारले युरिया, डीएपी र पोटासमा विशेष अनुदानमार्फत किसानलाई मलको आपूर्ति गर्ने गरेकोे छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयको आधाभन्दा बढी रकम यी रासायनिक मलको अनुदानमा नै जान्छ।

तर, सरकारले हरेक वर्ष अर्बौँ रकम अनुदान दिँदा पनि आवश्यकताअनुसार मलको आपूर्ति हुन भने सकेको छैन । सरकारले यस वर्ष पनि मल खरिदका लागि २८ अर्ब ८२ करोड १४ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।

सरकारले भने रासायनिक मल पर्याप्त मात्रामा मौज्दात भएको दाबी गरेको छ। यता, धान बालीका लागि कृषकलाई मल अभाव भएको कृषक समूह महासंघ नेपालका अध्यक्ष पञ्चकाजी श्रेष्ठले बताएका छन्।

‘धान खेती सुरु भइसक्यो तर मलको समस्या छ ।’ उनले भने, ‘सरकारले गोदाममा मल मौज्दात छ भने पनि कृषकले मल पाएका छैनन्।’ विशेषगरी मधेश, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै ठाउँमा समस्या देखिएको उनको भनाइ छ।
उनका अनुसार, हरेक वर्ष किसानहरुले रासायनिक मल अभाव ब्यहोरेका छन्। त्यसैले, सरकारले तत्काल मल आपूर्ति व्यवस्थापन राम्रो गर्नुपर्ने उनको सुझाव छ।

नेपालमा वर्षे धानवालीको लागि मात्रै ३ लाख ७५ हजार मेट्रिक टन रासायनिक मलको माग हुन्छ। यसमध्ये युरिया २ लाख, डीएपी १ लाख ५० हजार र पोटास २५ हजार मेट्रिक टन आवश्यक पर्ने श्रेष्ठले जानकारी दिए।

सरकारले दिने अनुदानमा कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले रासायनिक मल ल्याउने गर्छ । कृषि सामग्री कम्पनीले चालु आर्थिक वर्षमा कम्पनीका देशभर ४१ वटा डिपोबाट २ लाख २१ हजार ५६७ मेट्रिक टन युरिया वितरण गरिसकेको कम्पनीले जनाएको छ।

त्यसैगरी, डीएपी १ लाख १२ हजार ५०६ मेट्रिक टन र पोटास ९ हजार ६६५ मेट्रिक टन किसानलाई बिक्री गरिएको छ। हाल कम्पनीसँग युरिया, डीएपी र पोटास कुल ९८ हजार ६०९ मेट्रिक टन मौज्दात रहेको छ।

कम्पनीले पछिल्लो समयमा कतार, ओमान र इण्डोनेशियाबाट ३०–३० हजार मेट्रिक टन गरी कूल ६० हजार मेट्रिक टन युरिया मल शिपमेन्ट हुने तय भएपनि इरानले होर्मुजमा बन्द गरेका कारण उक्त युरिया मल आपूर्तिमा समस्या भएको हो।

यता, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले चालू आर्थिक वर्षमा कर्पोरेसनले ९५ हजार मेट्रिक टन ल्याइसकेको कर्पोरेसनका प्रवक्ता कुमार राजभण्डारीले बताएका छन् । मध्यपूर्वको द्वन्द्वका कारण करिब ४५ हजार मेट्रिक टन मल समयमै ल्याउन नसकिएको उनले बताए।

‘चालु आर्थिक वर्षका लागि कुल १ लाख ३२ हजार मेट्रिक टन ल्याउने भनेकोमा करिब ९५ हजार मेट्रिक टन मात्र भित्रिएको छ,’ उनले भने, ‘द्वन्द्वका कारण सम्झौताअनुसार सबै मल आउन सकेको छैन।’

आगामी आर्थिक वर्षका लागि करिब ३० हजार मेट्रिक टन मल समयभन्दा अगावै ल्याउने तयारी भइरहेको उनले जानकारी दिए । अहिले कर्पोरेसनसँग मात्रै ३९ हजार मेट्रिक टन मल मौज्दात रहेको उनको भनाई छ।

हाल १ लाख ४० हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेकोले अभाव नहुने कृषि मन्त्रालयको दाबी छ। किसानहरूको मागअनुसार आपूर्ति गर्न नसके पनि अभाव भने नहुने मन्त्रालयका सहसचिव डा. रामकृष्ण श्रेष्ठले बताएका छन्।
‘मागअनुसारको आपूर्ति गर्न सकिएको छैन, विगतमा पनि यस्तै हुने गरेको थियो’ उनले भने, ‘हामीसँग १ लाख ४० हजार मेट्रिक टन मल मौज्दात त्यसैले अभाव नै भने हुँदैन।’

उनका अनुसार, रासायनिक मलको बढ्दो अभावका बीच भारतले नेपाललाई ५० हजार मेट्रिक टन मल उपलब्ध गराउने भएको छ। जीटूजी प्रक्रिया अन्तर्गत पहिलो चरणमा ३० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल सहुलियत मूल्यमा नेपाल भित्रिने निश्चित भएको छ।

मल खरिदका लागि सरकारले वैशाख ११ गतेको मन्त्रिपरिषद् बैठकबाट ६० हजार मेट्रिक टन युरिया र ४० हजार मेट्रिक टन डीएपी खरिद गर्ने नीतिगत निर्णय गरेको थियो।

उक्त निर्णयको आधारमा नेपालको तर्फबाट कृषि सामग्री कम्पनी लिमिटेड र भारतको राष्ट्रिय केमिकल्स एण्ड फर्टिलाइजर्स (आरसीएफ) लिमिटेडबीच व्यावसायिक खरिद सम्झौतामा हस्ताक्षर सम्पन्न भएको सहसचिव श्रेष्ठले बताएका छन्।

किसानहरूले मल अभाव भयो भनिरहँदा राष्ट्रिय सभा बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले यो वर्ष धानबालीका लागि रासायनिक मलको कुनै अभाव नहुने दाबी गरेकी थिइन्।

ताजा अपडेट

नेपालवाच विशेष