कांग्रेसले १८ वर्ष नपुगेकालाई सदस्यता नदिने
नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, बाल अधिकार उपसमितिले सार्वजनिक अपिल प्रकाशित गरी बालबालिकालाई पार्टी सदस्य नबनाउन सबैसँग आग्रह गरेको छ।
कांग्रेसले डिजिटल प्रणाली मार्फत शुरु गरेको नयाँ क्रियाशील सदस्यता लिन इच्छुक व्यक्तिहरूले यही असार २० गतेसम्म पार्टीको आधिकारिक पोर्टल मार्फत अनलाइन आवेदन दिन सक्ने जनाएको छ। तर १८ वर्ष पुरा भएकाले मात्रै यो अवसर र जिम्मेवारी प्राप्त गर्ने बाल अधिकार उपसमिति संयोजक उमंग लोहनीले जनाएका छन्।
‘उमेरसँग सम्बन्धित यो प्रावधान पार्टीको वैधानिक दृष्टि मात्रै नभएर मुलुकको कानुन र संविधानको मर्म समेत हो’, उनले भनेका छन्।
कांग्रेसले नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन, २०७३ र बालबालिका सम्बन्धी ऐन, २०७५ ले राजनीतिक दलको सदस्य बन्न कम्तिमा १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने स्पष्ट व्यवस्था गरेको छ। नेपाल पक्ष राष्ट्र रहेको ‘संयुक्त राष्ट्र संघीय बाल अधिकार सम्बन्धी महासन्धि’ (यूएनसीआरसी) तथा बालअधिकार सम्बन्धी विश्वव्यापी स्थापित सिद्धान्तहरूले बालबालिकालाई राजनीतिक तथा दलीय स्वार्थ र दुरुपयोगबाट सर्वथा मुक्त राख्दै उनीहरूको नैसर्गिक बाल्यकाल, संरक्षण र सुरक्षित शिक्षाको अधिकार प्रत्याभूत गर्न निर्देशित गरेका छन्। यी सबैको सम्मान र पालना गरेर नै हामीले समुन्नत समाज स्थापित गर्न सक्ने कांग्रेसले स्मरण गराएको छ।
‘यी कानुन र अभिसन्धिहरुको पालना एवं रक्षा गर्नु सत्ता र प्रतिपक्ष सबैको साझा दायित्व र साझा जिम्मेवारी हो । त्यस विपरीत कुनै पनि दलले बालबालिकालाई पार्टी सदस्य बनाउँदा देशभित्र सम्बन्धित दलको अनि अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाल देशकै छविलाई गम्भीर असर पुग्छ भन्ने गहिरो हेक्का राख्न जरुरी छ’ अपिलमा भनिएको छ, ‘प्रधानमन्त्री आवद्ध रहेकोे दलको सदस्यता विवरणमा संविधान, कानुन र बालबालिका सम्बन्धि अभिसन्धि विपरीत देखिएको कर्म दुःखद मात्रै छैन, आपत्तिजनक र लज्जास्पद पनि छ। बाल अधिकार सम्बन्धि नेपाली कांग्रेसको यो उपसमिति यस सन्दर्भमा प्रधानमन्त्रीको सार्वजनिक जवाफसँगै कानुन कार्यान्वयनमा उहाँको तदारुकताको अपेक्षा गर्दछ।’
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले हालै सार्वजनिक गरेको पार्टी सदस्यहरूको तथ्यांकमा १८ वर्ष उमेर नपुगेका बालबालिकाको संख्या ३५ हजार २५७ रहेको छ।
पार्टी सदस्य संख्या धेरै देखाउने अर्थहीन होड गरेर एकातर्फ बालबालिकाको बालापन खोस्ने, अर्कातर्फ कानुन र संविधान विपरीत कार्य गर्ने गलत प्रवृत्ति देशभर कहिं पनि प्रस्तुत हुन नदिन कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका तर्फबाट पार्टीको सबै तहलाई सार्वजनिक रुपले आह्वान पनि गरिएको छ।


प्रतिक्रिया