असई थमन विक हत्या प्रकरणमा दोषी ठहर भएका पूर्वसांसद महतो पक्राउ
सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा उच्च अदालतबाट दोषी ठहर भएका नेकपा (एमाले)का पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेको नेतृत्वमा खटिएको प्रहरी टोलीले बिहीबार साँझ गौशाला नगरपालिका– ५ स्थित एमालेको पार्टी कार्यालयअगाडिबाट कोइरीलाई पक्राउ गरेको हो ।
थमन विक हत्या मुद्दामा जिल्ला अदालत महोत्तरीले यसअघि कोइरीलाई सफाइ दिएको थियो । तर, उक्त फैसलाविरुद्ध परेको पुनरावेदनमा उच्च अदालत जनकपुरले बुधबारको फैसलामार्फत उनलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो । सोही फैसला कार्यान्वयनका क्रममा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले जारी गरेको विज्ञप्तिअनुसार गौशाला नगरपालिका– २, निगौल निवासी कोइरीलाई अदालतको आदेश कार्यान्वयनका लागि नियन्त्रणमा लिइएको हो । यसअघि जिल्ला अदालत महोत्तरीले २८ मंसिर २०८० मा गरेको फैसलामा उच्च अदालतले आंशिक परिवर्तन गरेको छ । उच्च अदालतको बुधबारको फैसलाअनुसार जिल्ला अदालतबाट सफाइ पाएका पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई पाँच वर्ष कैद सजाय सुनाइएको छ ।
त्यसैगरी, जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका पूर्वप्रदेश राज्यमन्त्री अभिराम शर्मा, पूर्वजलेश्वर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मेन्द्र राय, पूर्वनगर प्रमुख रामशंकर मिश्र, जलेश्वर अस्पतालका पूर्वअध्यक्ष सुरेश पाण्डे तथा पवन कापरको जन्मकैदको फैसला उल्ट्याउँदै उच्च अदालतले उनीहरूलाई पनि पाँच वर्ष कैद सजाय तोकेको छ ।
यता, सोही मुद्दामा जन्मकैदको सजाय पाएका प्रदीप माझी, सञ्जयकुमार साह र मोहन ठाकुरको हकमा भने जिल्ला अदालतको फैसला सदर भएको छ ।
ताजा अपडेट
-
पेट्रोल पम्प बन्द गरे १० लाखसम्म जरिवाना, १५ दिन इन्धन आपूर्ति रोक्का हुने
-
असई थमन विक हत्या प्रकरणमा दोषी ठहर भएका पूर्वसांसद महतो पक्राउ
-
‘नेपाली ब्रो’ र उनकी प्रेमिका जेल चलान
-
विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अदालतको अनुमति
-
भारत र चीन दुवैसँगको सम्बन्धलाई नयाँ उचाइमा लैजान्छौँ : परराष्ट्रमन्त्री


प्रतिक्रिया