NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असार २९ गते

राहदानी विभागले सुरु गर्यो नयाँ प्रणाली

काठमाडौं । राहदानी विभागले नेपालको इतिहासकै सबैभन्दा ठूलो डेटा माइग्रेसन सफलतापूर्वक सम्पन्न गरी नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

परराष्ट्र मन्त्रालयअन्तर्गत रहेको राहदानी विभागले सोमबार सूचना जारी गरी सोमबारदेखि नयाँ प्रणाली कार्यान्वयनमा ल्याइएको जानकारी दिएको हो ।

विभागका अनुसार करिब एक करोड नेपाली नागरिकका राहदानीसम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गरिएको छ । विभागले नयाँ सूचना प्रविधि प्रणाली सञ्चालनमा आएपछि प्रारम्भिक चरणमा केही प्राविधिक चुनौती, प्रणालीमा सुस्तता तथा राहदानी वितरणमा सामान्य ढिलाइ हुन सक्ने जनाएको छ ।

यस्तो अवस्था नयाँ प्रणाली सञ्चालनको सुरुवाती चरणमा स्वाभाविक भएको विभागको भनाइ छ । सम्भावित समस्यालाई ध्यानमा राख्दै विभागका प्राविधिक टोली, कर्मचारी तथा प्रणाली विकास गर्ने कम्पनीका विशेषज्ञहरू चौबीसै घण्टा तयारी अवस्थामा रही प्रणालीको अनुगमन, परीक्षण र सुधारमा खटिरहेको जनाएको छ ।

विभागले देखिएका समस्याहरूको शीघ्र तथा दीर्घकालीन समाधान गर्न आफूहरू पूर्ण रूपमा सक्षम र प्रतिबद्ध रहेको बताएको छ । नयाँ प्रणालीको सुरुवाती चरणमा राहदानी अत्यावश्यक भएका सेवाग्राहीलाई मात्र आवेदन दिन विभागले अनुरोध गरेको छ । सेवाग्राहीको सहयोगले नयाँ प्रणालीलाई थप स्थिर र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने विभागको विश्वास छ ।

ताजा अपडेट

नेपालवाच विशेष