NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ साउन १७ गते

ब्रोड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० आरोही सम्पर्कविहीन, उद्धारको तयारी तीव्र

 

काठमाडौं — पाकिस्तानको काराकोरम पर्वत शृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड पिकमा हिमपहिरो खस्दा विश्वप्रसिद्ध नेपाली मूलका पर्वतारोही निर्मल पुर्जासहित १० जना आरोही सम्पर्कविहीन भएका छन्।

पाकिस्तान अल्पाइन क्लबका अनुसार बिहीबार मध्यान्हतिर आरोहणका क्रममा टोलीमाथि हिमपहिरो खसेको थियो। प्रारम्भिक विवरणअनुसार पाकिस्तान, ओमान, चीन, अमेरिका तथा नेपालमा जन्मिएका प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जना आरोहीसँग सम्पर्क हुन सकेको छैन।

घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै पाकिस्तान अल्पाइन क्लबले सरकारका उच्च निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरी खोज तथा उद्धार अभियानलाई तीव्र बनाइएको जनाएको छ। मौसम र सञ्चालनसम्बन्धी अवस्था अनुकूल हुनेबित्तिकै हेलिकप्टरसहित उपलब्ध सबै उद्धार स्रोत परिचालन गरिने क्लबले जनाएको छ।

सन् २०१९ मा निर्मल पुर्जाले विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल ६ महिनाभन्दा केही बढी अवधिमै आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए।

हिमपहिरोपछि सम्पूर्ण टोलीसँग सम्पर्क विच्छेद भएकाले उनीहरूको अवस्थाबारे आधिकारिक जानकारी आउन बाँकी रहेको पाकिस्तान अल्पाइन क्लबले जनाएको छ। उद्धार टोली मौसममा सुधार आउने प्रतीक्षामा रहेकाले खोज तथा उद्धार अभियानलाई थप प्रभावकारी बनाउने तयारी भइरहेको बताइएको छ।

ताजा अपडेट

नेपालवाच विशेष