पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौँ । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडक खण्डमा सवारी आवागमन प्रभावित भएको छ ।
नेपाल प्रहरीले आज बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध भएका र केही सडकमा राति सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको जनाएको छ ।
काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी बेलुका ६ देखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
यसैगरी, कान्तिलोकपथमा पनि बेलुका ५ देखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । इलाम नगरपालिका–९ मेची राजमार्गमा वर्षाका कारण सडक हिलाम्मे भएपछि सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्गका जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारस्थित लामासाँघु–रामेछाप सडक खण्डमा सामाकोशी खोलाको बहावले सडक कटान गरेपछि उक्त सडक पनि अवरुद्ध भएको छ ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित पासाङ ल्हामु सडक खण्डमा त्रिशूली नदीले कटान गरेकाले उक्त सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।
त्यसैगरी, गोरखाको धार्चे गाउँपालिका–३ अन्डरडाँडामा पहिरो खस्दा लार्के–बेनीघाट कच्ची सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
प्रहरीले वर्षायाममा पहिरो, बाढी तथा सडक कटानको जोखिम उच्च रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिन तथा आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ ।
ताजा अपडेट
-
मिड-भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
-
‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा
-
सुनको मूल्य १८ सय रुपैयाँले घट्यो
-
सिरहाको गोलबजारमा दिनभरका लागि खुकुलो बनाइयो कर्फ्यु
-
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात


प्रतिक्रिया