NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ साउन २० गते

हर्मुज जलघाँटी खुलाउने सम्झौता अन्तिम चरणमा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाँटी चाँडै पुनः सञ्चालनमा नआए इरानले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्। उनले अमेरिका, इरान र ओमानबीच जलघाँटी खुलाउने विषयमा वार्ता सकारात्मक दिशामा अघि बढिरहेको र एक–दुई दिनभित्र सम्झौता हुन सक्ने विश्वास व्यक्त गरेका छन्।

क्यालिफोर्निया भ्रमणका क्रममा फक्स न्युजसँग कुरा गर्दै ट्रम्पले हर्मुज जलघाँटी “धेरै चाँडै” खुल्ने अपेक्षा रहेको बताए। तर त्यसो नभए इरान “धेरै नराम्रो रूपमा प्रभावित हुने” चेतावनी दिँदै अन्ततः जलघाँटी खुल्ने दाबी गरे।

ट्रम्पको भनाइ अमेरिका, इरान र ओमानबीच हर्मुज जलघाँटीमा समुद्री आवागमन पुनः व्यवस्थित गर्ने अन्तरिम सम्झौता अन्तिम चरणमा पुगेको समाचार सार्वजनिक भएपछि आएको हो। अमेरिकी सञ्चारमाध्यम एक्सियोसका अनुसार अमेरिकाले बुधबार उक्त सम्झौताको घोषणा गर्ने तयारी गरेको छ।

प्रस्तावित अन्तरिम व्यवस्थाअन्तर्गत हर्मुज जलघाँटी हुँदै ६० दिनका लागि सुरक्षित समुद्री आवागमन सुनिश्चित गरिनेछ। यस अवधिमा कुनै पनि जहाजबाट टोल वा पारवहन शुल्क नलिने व्यवस्था रहने बताइएको छ। आवश्यक परे सम्झौताको अवधि थप गर्न सकिनेछ।

सम्झौताअनुसार खाडी क्षेत्रमा प्रवेश गर्ने जहाजहरूले इरानी जलक्षेत्रको उत्तरी जलमार्ग प्रयोग गर्नेछन् भने बाहिरिने जहाजहरूले ओमानको क्षेत्रीय जलक्षेत्र हुँदै दक्षिणी मार्ग प्रयोग गर्ने व्यवस्था रहनेछ।

अमेरिका–इरानबीचको तनाव कम गर्दै युद्धविराम पुनःस्थापना र आणविक वार्ता पुनः सुरु गर्ने उद्देश्यसहित उक्त समझदारी अघि बढाइएको बताइएको छ। गत महिना भएको १४ बुँदे समझदारीपत्र (एमओयू) असफल भएपछि दुई देशबीचको तनाव बढेको थियो।

प्रस्तावित सम्झौतामा ३० दिनभित्र मध्य जलमार्गमा रहेका नौसैनिक बारुदी सुरुङ हटाउने योजना पनि समावेश रहेको एक्सियोसले जनाएको छ। त्यसपछि इरान र ओमानबीच स्थायी व्यवस्थाअन्तर्गत दुवैतर्फका जहाज आवागमन सहज बनाउने तयारी छ।

वार्तामा ओमान र इरानसँगै कतार, पाकिस्तान र साउदी अरेबियाले समेत मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको जनाइएको छ। अमेरिकी विशेष दूत स्टिभ विटकोफले इरानी विदेशमन्त्री अब्बास अराघची र ओमानी विदेशमन्त्री बद्र अल–बुसाइदीसँग पटक–पटक छलफल गरेको बताइएको छ।