रसुवादेखि चितवनसम्म उच्च सतर्कता, नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा बस्न आग्रह
काठमाडौं । गृह मन्त्रालयले रसुवास्थित भोटेकोसी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेको जानकारी दिँदै अर्को सूचना जारी नभएसम्म भोटेकोसी र त्रिशूली नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
मन्त्रालयका अनुसार भोटेकोसी र त्रिशूली नदी आसपासका क्षेत्र, विशेषगरी मुग्लिनसम्मका नदी तटीय बस्तीहरू उच्च जोखिममा रहेका छन् । रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लाका नदी किनार क्षेत्रमा बसोबास गर्ने घरपरिवारलाई सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ।
गृह मन्त्रालयले खोज तथा उद्धार आवश्यक परेमा वा कुनै सहायता गर्नुपर्ने अवस्था देखिएमा टोल फ्री नम्बर १२३४ मा तत्काल सम्पर्क गर्न आग्रह गरेको छ । त्यस्तै, बाढीको जोखिमलाई दृष्टिगत गर्दै पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी सडक तथा मुग्लिन–नारायणगढ सडकखण्डमा यात्रा नगर्न र नगराउन पनि मन्त्रालयले अनुरोध गरेको छ। साथै, जोखिमयुक्त क्षेत्रमा आवतजावत पूर्ण रूपमा रोक्न आग्रह गरिएको छ।
मन्त्रालयले स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायबाट जारी गरिएका सूचना र चेतावनीको पालना गर्न तथा अफवाहमा विश्वास नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।
ताजा अपडेट
-
रसुवामा आएको भीषण बाढी हिमताल फुटेर आएको हुनसक्ने विज्ञहरूको प्रारम्भिक अनुमान
-
रसुवा, नुवाकोट र धादिङलाई बाढी संकटग्रस्त क्षेत्र घोषणा
-
भोटेकोशी बाढी : नुवाकोट र धादिङमा ८ जनाको शव फेला
-
रसुवा विपद्: डब्ल्युएचओले स्वास्थ्य तथा राहत सामग्री पठाउने
-
उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन


प्रतिक्रिया