NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १२ गते

भोटेकोशी बाढीः ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडौँ। रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक सम्पर्कविहीन भएकामध्ये हालसम्म १२१ को उद्धार गरिएको छ।

अझै ६२२ पर्यटक सम्पर्कविहिन रहेका नेपाल पर्यटन बोर्डले जनाएको छ।पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) हिक्मतसिंह ऐरले विभिन्न कम्पनीमार्फत गोसाइँकुण्ड र कैलाश मानसरोवर गएका ६२२ पर्यटक अझै सम्पर्कविहिन भएका जानकारी दिए।उनका अनुसार नेपालका १४९, भारतका ९८, अमेरिकाका ६५, युक्रेनका ६१, मलेसियाका ५१, चीनका आठ जना तथा अष्ट्रेलिया, बेलायत, क्यानडा, लाटभियालगायत ३६ देशका पर्यटकसहित ६२२ जना सम्पर्कविहीन भएका हुन्।

प्रमुख कार्यकारी अधिकृत ऐरले भारतका ८५, चीनका १६, दक्षिण कोरियाका नौ, अमेरिका, रुसका र इटालीका दुई/दुई तथा बेल्जियम, पोर्चुगल, स्पेन, बुल्गेरिया र स्वीजरल्याण्डका एक/एक जनाको उद्धार गरिएको छ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी र अन्य पर्यटनसम्बन्धी सरोकार भएका निकायले प्रभावित क्षेत्रमा रहेका पर्यटकको खोजी र उद्धार कार्यलाई तीव्रता दिएका छन्।

घाइते र अलपत्र परेकालाई सुरक्षित स्थानमा ल्याउन आवश्यक प्रयास भइरहेको बोर्डले जनाएको छ।नेपाल पर्यटन बोर्डले ‘पर्यटकको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो’ भन्दै सबैलाई धैर्य र सतर्क रहन आह्वान गरेको छ। बोर्डले कुनै पनि जानकारी वा सहयोगका लागि टोल फ्री नम्बर १२३४, हटलाइन नम्बर ११४४ र पर्यटन प्रहरी ९८५१२८९४४५ मा सम्पर्क गर्न भनेको छ।

ताजा अपडेट

नेपालवाच विशेष