डब्लुएचओद्वारा बाढी प्रभावितका लागि १ लाख ५० हजार डलरको स्वास्थ्य सामग्री सहयोग
काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायका लागि १ लाख ५० हजार अमेरिकी डलर बराबरको आपत्कालीन स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।
डब्लुएचओले दक्षिणपूर्वी एसिया क्षेत्रीय स्वास्थ्य आपत्कालीन कोषमार्फत उक्त सहायता उपलब्ध गराएको हो । विश्व स्वास्थ्य सङ्गठन दक्षिणपूर्वी एसिया क्षेत्रीय कार्यालयका कार्यवाहक प्रमुख डा. निलेश बुद्धले नेपालमा आपत्कालीन अवस्थाको प्रतिकार्य तथा पुनःस्थापनाका प्रयासमा निरन्तर सहयोग गर्न डब्लुएचओ प्रतिबद्ध रहेको बताए ।
उनका अनुसार भदौ १० गते बाढी आएको केही घण्टामै प्रभावित क्षेत्रका लागि अत्यावश्यक आपत्कालीन स्वास्थ्य सामग्री पठाइएको थियो ।
डब्लुएचओका अनुसार उपलब्ध गराइएको सामग्रीबाट करिब १० हजार जनालाई तीन महिनासम्म आवश्यक स्वास्थ्य सेवा प्रदान गर्न सकिनेछ । त्यससँगै प्रभावित समुदायका लागि आवश्यक पालसमेत उपलब्ध गराइएको छ ।
यस्तै, प्रभावित क्षेत्रमा सर्जिकल मास्क, पञ्जा, ह्यान्ड स्यानिटाइजरलगायत अन्य अत्यावश्यक स्वास्थ्य सामग्री पठाइएको डब्लुएचओ दक्षिणपूर्वी एसिया क्षेत्रीय कार्यालयले जनाएको छ ।
बाढीपछि विभिन्न प्रकारका चोटपटक, झाडापखाला, श्वासप्रश्वाससम्बन्धी समस्या, पानी तथा खाद्यजन्य रोग र वाहकजन्य रोगको जोखिम बढ्नसक्ने डब्लुएचओले जनाएको छ ।
यस्ता स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रमा समयमै स्वास्थ्य सेवा तथा आवश्यक सावधानी अपनाउनुपर्नेमा डब्लुएचओले जोड दिएको छ ।
ताजा अपडेट
-
यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार
-
सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिएको छ: प्रधानमन्त्री बालेन
-
डब्लुएचओद्वारा बाढी प्रभावितका लागि १ लाख ५० हजार डलरको स्वास्थ्य सामग्री सहयोग
-
त्रिशूली ‘३ ए’मा ड्रिलिङको काम सकियाे, उद्धारकर्मीलाई भित्र पठाइँदै
-
बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत प्रभावकारी बनाउन सभापति लामिछानेको निर्देशन


प्रतिक्रिया