NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १५ गते

बेजिब्रिज जोड्न अध्ययन हुँदैछ, ठाउँ उपयुक्त भए १५–२० दिनमा काम सकिन्छ

गत बुधबार भोटेकोशी हुँदै त्रिशूलीमा नदीमा प्रवेश गरेको भीषण बाढीले ठूलो संख्यामा मानिसहरूको हताहती हुनुका साथै रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा सडक तथा पुल पूर्वाधारमा ठूलो क्षति पु-याएको छ । अर्बौंका भौतिक संरचना ध्वस्त हुँदा बस्तीहरूको सडक सञ्जालसँगको सम्पर्क टुटेको छ । सडक विभागका अनुसार, बाढीले ५५ किलोमिटर सडक पूर्णत ध्वस्त भएको छ भने ३५ वटा पुल बगेका छन् । सडक र पुलमा अकल्पनीय क्षति हुँदा औषधोपचार, अत्यावश्यक वस्तुहरूको ढुवानीलगायत कार्य प्रभावित हुन पुगेको छ ।

सडक विभागका सहायक प्रवक्ता ई. शुभाञ्जन दाहाल सवारीआवागन सुचारु गर्न विभागले सक्रियतापूर्वक काम गरिरहेको बताउँछन् । भदौ १० गतेको बाढीले सडक पूर्वाधारमा पु-याएको क्षति, वैकल्पिक मार्ग प्रयोगबारे भइरहेको गृहकार्य, बेलिब्रिज जडानलगायत विषयमा नेपालवाच प्रतिनिधिले दाहालसँग गरेको कुराकानी :

गत बुधबार भोटेकोशी हुँदै त्रिशूली नदीमा प्रवेश गरेको बाढीले सडक पूर्वाधार र पुलहरू ध्वस्त पारेको छ । यसबाट सडक पूर्वाधारमा कति नोक्सान पुग्यो होला, केही लेखाजोखा गर्न भ्याइएको छ ?

हामीले विभागको तर्फबाट प्रारम्भिक तथ्याङ्क सङ्कलन गरेका छौं। मुख्य गरी सडक विभागअन्तर्गत रसुवा, नुवाकोट र धादिङ गरी तीनवटा जिल्लामा ३५ वटा सडक पुलमा क्षति पुगेको छ। त्यसैगरी करिब ५५ किलोमिटर सडक खण्ड पूर्ण रूपमा ध्वस्त भएको छ, जसलाई नयाँ शिराबाटै पुनर्निर्माण गर्नुपर्ने अवस्था छ।

अहिलेको वस्तुस्थितिलाई हेर्दा ध्वस्त भएका सडक र बगेका पुलहरू सुरुबाट निर्माण गर्न सरसर्ती २५ अर्ब रुपैयाँको आसपासमा खर्च हुने र क्षति पुगेको देखिन्छ

५५ किलोमिटर सडक र ३५ वटा पुल ध्वस्त हुँदा आर्थिक रूपमा कति क्षति भयो होला ?

यो एकदमै प्रारम्भिक विवरण हो। अहिलेको वस्तुस्थितिलाई हेर्दा ध्वस्त भएका सडक र बगेका पुलहरू सुरुबाट निर्माण गर्न सरसर्ती २५ अर्ब रुपैयाँको आसपासमा खर्च हुने र क्षति पुगेको देखिन्छ।

सडक र पुलमा पुगेको क्षतिले आवागमन पूर्ण रूपमा ठप्प छ। यातायात सुचारु गराउन विभागले कसरी काम गरिरहेको छ ?

हामीले अहिले दुई वटा रणनीतिमा काम गरिरहेका छौँ। पहिलो— बिग्रिएकै सडक खण्डलाई सफा गरेर र मर्मत गरेर बाटो खुलाउन हाम्रा हेभी इक्विपमेन्टहरू परिचालन भइसकेका छन्। टोलीहरू बाटो खुलाउँदै अगाडि बढिरहेका छन्।

दोस्रो, तत्काल जनजीवन सहज बनाउन वैकल्पिक मार्गहरूको पहिचान र खोजी गर्ने काम भइरहेको छ। साथै, सडकको आपतकालीन मर्मतसम्भारका लागि गल्छी–त्रिशूली आयोजनामार्फत छोटो प्रक्रियाबाट ठेक्का आह्वान भइसकेको छ। ठेकेदार चयन हुनासाथ सडक मर्मतको काम द्रुत गतिमा अघि बढ्छ।

यदि ५० मिटरभन्दा लामा बेलिब्रिज आवश्यक परेमा छिमेकी मित्रराष्ट्रहरूसँग सहयोग माग्ने विषयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत प्रक्रिया अगाडि बढिरहेको छ

बाढीले पुलहरू बगाउँदा पारिका बस्तीहरूसँगको सम्पर्क टुटेको छ। ती स्थानमा तत्काल आवागमन जोड्न पुलको हकमा के तयारी छ ?

नयाँ पक्की पुल नबन्दासम्मका लागि बेलिब्रिज जडान गर्नु नै सबैभन्दा उत्तम र द्रुत उपाय हो। अहिले सडक विभागसँग पूर्ण रूपमा तयार अवस्थामा ७ सेट बेलिब्रिज स्टकमा छन्। हाम्रा डिभिजन कार्यालयहरूमा कहाँ–कहाँ प्रयोग नभएका बेलिब्रिजहरू छन्, त्यसको रेकर्ड लिइसकेका छौं। फिल्डमै खटिएर कुन–कुन ठाउँमा बेलिब्रिज राख्न सकिन्छ भनेर अध्ययन भइरहेको छ ।

स्टकमा रहेका बेलिब्रिज जडान गर्न कति समय लाग्छ ? अनि ५० मिटरभन्दा लामा पुल बगेको ठाउँमा के गर्नुहुन्छ ?

हामीसँग मौज्दात रहेका बेलिब्रिज सामान्यतया ५० मिटर लम्बाइसम्मका मात्रै छन्। ५० मिटरभन्दा छोटा वा उपयुक्त ठाउँमा बेलिब्रिज इरेक्ट गर्न धेरै समय लाग्दैन । फिल्ड उपयुक्त देखिएमा १५ देखि २० दिनभित्र जडान गरेर यातायात सञ्चालन गर्न सकिन्छ।

सामान्यतया हाम्रा पुलहरू १०० वर्षको बाढीको सम्भावनालाई आधार मानेर डिजाइन गरिन्थ्यो। तर, अहिलेको अकल्पनीय बाढी र परिवर्तन हुँदै गएको मौसमका कारण त्यो १०० वर्षको मापदण्डलाई पुनर्विचार गर्नुपर्ने बहस सिर्जना भएको छ र त्यो गर्न आवश्यक पनि देखिन्छ

यदि ५० मिटरभन्दा लामा बेलिब्रिज आवश्यक परेमा छिमेकी मित्रराष्ट्रहरूसँग सहयोग माग्ने विषयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत प्रक्रिया अगाडि बढिरहेको छ।

यस पटकको क्षतिले हाम्रा विकास निर्माण र पूर्वाधारलाई प्राकृतिक प्रकोप तथा जलवायु परिवर्तनसँग जोडेर लैजानुपर्ने गम्भीर बहस सिर्जना गरेको छ। विभागले यसलाई कसरी लिएको छ ?

यो एकदमै महत्त्वपूर्ण विषय हो। समय–समयमा आउने विपद् र जलवायु परिवर्तनका आयामहरूलाई ध्यानमा राखेर हामीले हाम्रा इन्जिनियरिङ र डिजाइन स्ट्यान्डर्डहरू परिमार्जन गर्दै आएका छौं।

सामान्यतया हाम्रा पुलहरू १०० वर्षको बाढीको सम्भावनालाई आधार मानेर डिजाइन गरिन्थ्यो। तर, अहिलेको अकल्पनीय बाढी र परिवर्तन हुँदै गएको मौसमका कारण त्यो १०० वर्षको मापदण्डलाई पुनर्विचार गर्नुपर्ने बहस सिर्जना भएको छ र त्यो गर्न आवश्यक पनि देखिन्छ। अब हाम्रा सम्पूर्ण सडक तथा पुल संरचनाहरूलाई जलवायु परिवर्तनसँग अनुकूलन हुने गरी नयाँ प्रविधि र मापदण्डका आधारमा डिजाइन गर्नुपर्छ।

बगेका सडक र पुलहरूलाई पूर्ण रूपमा पुरानै स्थितिमा फर्काउन कति समय लाग्ला ?

अहिल्यै ठ्याक्कै यति नै समय लाग्छ भनेर भन्न सकिने अवस्था छैन। किनभने, धेरै ठाउँमा सडक खण्डहरू पूर्ण रूपमा बगेर पन्छाउन पनि नमिल्ने गरी नष्ट भएका छन्। अहिलेकै पुरानो रेखाङ्कनमा सडक बनाउन सम्भव नहुन सक्छ। त्यसका लागि नयाँ र सुरक्षित रेखाङ्कन तय गरी विस्तृत अध्ययन र डिजाइन गराएर मात्र निर्माण कार्य सुरु गर्नुपर्ने हुन्छ। प्राविधिक टोलीहरू फिल्डमै रहेकाले स्थलगत अध्ययन सकिएपछि मात्रै पुनर्निर्माणको निश्चित समयसीमा भन्न सकिन्छ।

ताजा अपडेट

नेपालवाच विशेष