निजामती सेवा दिवसका औपचारिक कार्यक्रम रद्द, बजेट राहत कोषमा
काठमाडौँ – सरकारले यस वर्षको निजामती सेवा दिवसका अवसरमा आयोजना हुने सबै औपचारिक कार्यक्रम रद्द गरेको छ। रसुवाको भोटेकोसी क्षेत्रमा आएको बाढीबाट उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै सरकारले यस्तो निर्णय गरेको हो।
बाढीमा परी ज्यान गुमाएकाहरूको सम्मानमा सरकारले आज राष्ट्रिय शोकसमेत घोषणा गरेको छ। विपद्का कारण खोज, उद्धार तथा राहत कार्यलाई प्राथमिकता दिनुपर्ने अवस्था रहेकाले दिवसका कार्यक्रम स्थगित गरिएको भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।
निजामती सेवा दिवस मूल समारोह समितिको बैठकले दिवसका लागि तय गरिएका सम्पूर्ण कार्यक्रम रद्द गर्ने निर्णय गरेको हो। विगतका वर्षमा दिवसका अवसरमा प्रभातफेरी, वृक्षारोपण तथा उत्कृष्ट निजामती कर्मचारीलाई पुरस्कार वितरणलगायतका कार्यक्रम आयोजना हुँदै आएका थिए।
मन्त्रालयका अनुसार भोटेकोसी बाढीमा केही निजामती कर्मचारीले ज्यान गुमाएका छन् भने केही अझै बेपत्ता छन्। विपद्को यस अवस्थामा कर्मचारी तथा सुरक्षाकर्मीहरू खोज, उद्धार र राहतमा परिचालन भएकाले औपचारिक कार्यक्रम आयोजना नगर्ने निर्णय गरिएको हो।
सरकारले यस वर्ष निजामती सेवा दिवसका लागि विनियोजन गरेको बजेट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिएको छ।
ताजा अपडेट
-
भग्नावशेषबाट जीवित भेटिएपछि उद्धारमा कमजोरी भयो कि भन्ने परेको छ
-
सुन र चाँदी दुवैको मूल्य घट्यो
-
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
-
सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना: उच्च सतर्कता अपनाउन मौसमविद्को आग्रह
-
निजामती सेवा दिवसका औपचारिक कार्यक्रम रद्द, बजेट राहत कोषमा


प्रतिक्रिया