नेपालको विपत्तिमा अस्ट्रेलियाको ऐक्यबद्धता : ‘तपाईँहरू यो पीडामा एक्लै हुनुहुन्न’
काठमाडौँ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपाल र चीनको तिब्बत सीमावर्ती क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको ठुलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै संकटको यस घडीमा नेपालप्रति अस्ट्रेलियाको साथ र ऐक्यबद्धता रहेको बताएका छन्।
अस्ट्रेलियाली संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री अल्बानिजले विपत्तिपछि आफ्ना ३६ जना नागरिक अझै सम्पर्कविहीन रहेको जानकारी दिएका छन्। बेपत्ता व्यक्तिको अवस्थाबारे समय बित्दै जाँदा उनीहरू फेला पर्ने अपेक्षा कठिन बन्दै गएको भए पनि आशा कायम रहेको उनले बताएका छन्।
गत अगस्ट २६ मा हिम पहिरोपछिको बाढीले नेपाल तथा सीमापारका क्षेत्रमा व्यापक विनाश निम्त्याएको उल्लेख गर्दै उनले यस घटनाबाट नेपालले सबैभन्दा ठुलो क्षति व्यहोर्नुपरेको बताए। विपत्तिका कारण धेरै नागरिकले परिवारका सदस्य, घर, बस्ती तथा जीविकोपार्जनका आधार गुमाएको उनको भनाइ थियो।
नेपालले राष्ट्रिय शोक दिवस मनाइरहेका बेला प्रधानमन्त्री अल्बानिजले प्रभावित नेपाली जनताप्रति सहानुभूति व्यक्त गर्दै अस्ट्रेलिया उनीहरूको दुःखमा साथमै रहेको सन्देश दिएका छन्।
उनले गत शुक्रबार नेपालका प्रधानमन्त्री वालेन्द्र शाहसँग टेलिफोन संवाद गरी अस्ट्रेलिया सरकार तथा जनताका तर्फबाट समवेदना प्रकट गरेको जानकारीसमेत संसद्मा गराएका थिए।
अस्ट्रेलियामा रहेका नेपाली, तिब्बती र भारतीय समुदायसँग सरकारले निरन्तर सम्पर्क र समन्वय गरिरहेको प्रधानमन्त्री अल्बानिजले बताए। प्रभावित परिवारप्रति सहयोग र ऐक्यबद्धता कायम राख्न उनले अस्ट्रेलियाली नागरिकलाई आग्रहसमेत गरेका छन्।
विपद् राहतका लागि गरिएको आपत्कालीन सहयोग आह्वानमा अस्ट्रेलियाली नागरिकले देखाएको सहयोग र उदारताको प्रशंसा गर्दै उनले ठुलो संकटको सामना साझा मानवीय भावना र सामूहिक प्रयासबाट गर्न सकिने बताएका छन्।
ताजा अपडेट
-
नापी कार्यालयका दुई कर्मचारीविरुद्ध घुस मागेको आरोपमा भ्रष्टाचार मुद्दा दायर
-
नेपालको विपत्तिमा अस्ट्रेलियाको ऐक्यबद्धता : ‘तपाईँहरू यो पीडामा एक्लै हुनुहुन्न’
-
भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय शोक
-
७२ वर्षीया हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
-
भग्नावशेषबाट जीवित भेटिएपछि उद्धारमा कमजोरी भयो कि भन्ने परेको छ


प्रतिक्रिया