भोटेकोसी बाढीबाट १८ विद्यालय प्रभावित, ९३ करोड ७३ लाख बराबरको क्षति
काठमाडौँ। भोटेकोसी बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रुपमा क्षतिग्रस्त हुँदा ९३ करोड ७३ लाख बराबरको हानि भएको छ ।
राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र मूल्याङ्कन (आरडिएनए) प्रतिवेदनमा विद्यालयका भवन, शैक्षिक सम्पत्ति गरी उक्त परिमाणमा क्षति भएको हो ।
प्रतिवेदनअनुसार १८ वटा विद्यालयका ५६ वटा भवन प्रभावित भएका छन् । जसमध्ये १५२ वटा कोठामा आंशिक र १५६ वटामा पूर्ण रुपमा क्षति पुगेको छ ।
स्थानीय तहअनुसार रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा एउटा विद्यालय प्रभावित भएको छ । उक्त विद्यालयका दुई वटा भवनका ११ वटा कोठा पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । मूल्यका हिसाबले यो रु ३.७५ करोड बराबरको क्षति हो ।
रसुवाकै उत्तरगया गाउँपालिकामा रहेका तीन वटा विद्यालयका ६ वटा भवनमा ३६ वटा कोठा पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । यो करिब रु १२.२९ करोड बराबरको क्षति हो ।
नुवाकोटको विदुर नगरपालिकामा रहेका नौ वटा विद्यालय प्रभावित भएका छन् । विद्यालयमा ३२ वटा भवनमा क्षति पुगेकामा ६१ वटा कोठा आंशिक र ८९ वटा कोठा पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । जुन रु ३६.६२ करोड बराबर हो ।
धादिङको गल्छी गाउँपालिकाका तीन वटा विद्यालय प्रभावित भएका छन् । जसमध्ये १० वटा भवनका ७७ वटा कोठा आंशिक र आठ वटा कोठा पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । जुन रु १०.६१ करोड बराबरको क्षति हो । सोही जिल्लाको बेनिघाट रोराङ गाउँपालिकामा एउटा विद्यालय प्रभावित भएको छ । उक्त विद्यालयको दुई वटा भवनका १२ वटा कोठा पूर्ण रुपमा क्षति भएका छन् । जुन रु ४.१ करोड बराबरको क्षति हो ।
जिल्लाको सिद्धलेक गाउँपालिकामा एउटा विद्यालय चार वटा भवनका १४ वटा कोठामा आंशिक क्षति पुगेको छ । जुन रु १.४३ करोड बराबरको क्षति हो । प्रतिवेदनका अनुसार शैक्षिक सम्पत्तिका रुपमा रहेका रु २४.९३ करोडको क्षति भएको छ । प्रतिवेदनले विद्यालय क्षेत्रको पुनरुत्थानका लागि चार अर्ब २३ करोड ३५ लाख खर्च लाग्ने आकलन गरेको छ ।
ताजा अपडेट
-
समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
-
प्रधान सेनापति सिग्देल चीन प्रस्थान
-
भोटेकोसी बाढीबाट १८ विद्यालय प्रभावित, ९३ करोड ७३ लाख बराबरको क्षति
-
पृथ्वी राजमार्गअन्तर्गत धादिङको सितल बजार सडकखण्डमा ब्लास्टिङ गरेर सडक खोल्ने तयारी
-
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै


प्रतिक्रिया