NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ ३१ गते

१० स्थानीय जनप्रतिनिधिको पद रिक्त, अधिकांश वडा अध्यक्ष

काठमाडौं। निर्वाचन आयोगले विभिन्न स्थानीय तहका निर्वाचित १० जना जनप्रतिनिधिको पद रिक्त भएको जनाएको छ। सम्बन्धित जनप्रतिनिधिले राजनीतिक दल त्याग गरेको सूचना प्राप्त भएपछि प्रचलित कानुनअनुसार उनीहरूको निर्वाचित पद रिक्त घोषणा गरिएको आयोगले जनाएको हो।

आयोगका अनुसार पद रिक्त हुने जनप्रतिनिधिमा धनुषाका चार, खोटाङका दुई, डोल्पाका दुई तथा कैलाली र मोरङका एक–एक जना छन्। रिक्त पदमध्ये अधिकांश वडा अध्यक्षका रहेका छन् भने केही गाउँपालिका उपाध्यक्ष पद पनि छन्।

धनुषामा शहीदनगर, मिथिला, कमला र मिथिला नगरपालिकाका वडा अध्यक्षको पद रिक्त भएको छ। त्यस्तै, खोटाङको केपिलासगढी गाउँपालिकाका वडा अध्यक्ष र उपाध्यक्षको पद रिक्त भएको आयोगले जनाएको छ।

कैलालीको बरदगोरिया गाउँपालिकाका उपाध्यक्ष, डोल्पाको ठूलीभेरी नगरपालिकाका वडा अध्यक्ष तथा मोरङको धनपालथान गाउँपालिकाका वडा अध्यक्षको पदसमेत रिक्त भएको छ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ तथा सम्बन्धित नियमावलीमा भएको व्यवस्थाअनुसार दल त्याग गरेको सूचना प्राप्त भएपछि निर्वाचित जनप्रतिनिधिको पद रिक्त हुने व्यवस्था छ। सोही व्यवस्थाबमोजिम राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) अनुसार आयोगले सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशित गरेको जनाएको छ।