NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असोज १२ गते

पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशभर २७२ वटा विपद्का घटना हुँदा २१ जनाको मृत्यु भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले असोज ११ गते बिहान १० बजेदेखि असोज १२ गते बिहान १० बजेसम्मको अवधिमा भएका विपद्का घटनामा चार जना बेपत्ता र २६ जना घाइते भएको जानकारी दिइन्।

प्राधिकरणका अनुसार यस अवधिमा सबैभन्दा बढी पहिरोका ९७ घटना भएका छन्। पहिरोमा परी २१ जनाको मृत्यु, चार जना बेपत्ता र चार जना घाइते भएका छन्।

त्यसैगरी अविरल वर्षाका ८०, बाढीका ५७, सर्पदंशका १७, आगलागीका आठ, हावाहुरीका आठ, जनावर आक्रमणका चार र हिमपातको एउटा घटना भएको छ।

बाढीका घटनामा मानवीय क्षति नभए पनि ४१५ जनाको उद्धार गरिएको प्राधिकरणको विवरणमा उल्लेख छ। अविरल वर्षाका घटनामा पनि सात सय जनाको उद्धार गरिएको छ।

विपद्का कारण ४८ सडकखण्ड अवरुद्ध भएका छन् भने १२१ चौपायाको क्षति भएको छ। घटनाबाट भएको अनुमानित आर्थिक क्षति एक करोड ९१ लाख ६६ हजार रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा भएको विपद्मध्ये पहिरो, बाढी र अविरल वर्षाका घटना प्रमुख रहेका छन्। यस अवधिमा सुरक्षाकर्मी तथा सम्बन्धित निकायबाट उद्धार तथा खोजी कार्य जारी रहेको प्राधिकरणले जनाएको छ।

ताजा अपडेट

नेपालवाच विशेष